अस्पतालका प्रमुख डा. केशव धामीका अनुसार यो सेवाबाट संक्रमणको सही पहिचान गरेर बिरामीलाई उपयुक्त एन्टिबायोटिक उपचार दिन सहज हुनेछ ।
रामेछाप — एन्टिबायोटिक औषधिको समुचित प्रयोग र एन्टिमाइक्रोबियल रेसिस्टेन्स कम गर्ने उद्देश्यसहित मन्थली अस्पतालमा पिसाब तथा रगतको कल्चर सेवा सुरु गरिएको छ ।
आइतबार मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले औपचारिक रूपमा उक्त सेवाको शुभारम्भ गरे । सेवा शुभारम्भ समारोहमा बोल्दै नगर प्रमुख लव श्रेष्ठले जनशक्ति अभावसहितका विभिन्न चुनौतीका बाबजुद पनि मन्थली अस्पतालले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै गएको भन्दै प्रशंसा गरे ।
‘अस्पतालमा जनशक्ति लगायतका समस्या छन् । तर पनि नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन हामी निरन्तर प्रयत्नशील छौं,’ उनले भने, ‘देखिएका कमजोरीलाई सुधार गर्दै अस्पताललाई अझ सक्षम र विश्वासिलो बनाउनुपर्नेछ ।’
अस्पतालका प्रमुख डा. केशव धामीका अनुसार यो सेवाबाट संक्रमणको सही पहिचान गरेर बिरामीलाई उपयुक्त एन्टिबायोटिक उपचार दिन सहज हुनेछ । यसले अनावश्यक औषधि प्रयोगमा रोक लगाउने र भविष्यमा औषधि प्रतिरोधी रोग नियन्त्रणमा मद्दत गर्ने विश्वास लिइएको छ ।
उनले भने, ‘यो सेवा सुरु भएपछि रामेछापका बिरामीलाई उपचारका लागि काठमाडौं वा अन्य सहर धाउनुपर्ने बाध्यता घट्नेछ ।’ मन्थली नगरपालिका–१ मा अवस्थित मन्थली अस्पताललाई २०७८ माघ २७ गतेदेखि १५ बेड क्षमतासहित स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको हो ।
त्यसयता अस्पतालले विभिन्न नयाँ सेवा थप्दै आएको छ । हाल यो अस्पतालमा रामेछापसहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका गरी दैनिक २०० भन्दा बढी सेवाग्राही लाभान्वित भइरहेको अस्पतालले जनाएको छ ।
