सामूहिक होमस्टेबाट आत्मनिर्भरताको यात्रामा महिलाहरू

गाउँको शान्त परिवेशमा महिलाहरूले सुरु गरेको होमस्टेले पाहुनालाई परम्परागत स्वाद र आतिथ्यको अनुभव दिन्छ।

आश्विन २, २०८२

नवराज श्रेष्ठ

Women on their journey to self-reliance from collective homestays

What you should know

रामेछाप — रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका महिलाहरू सामूहिक प्रयासमार्फत् गाउँमै होमस्टे व्यवसायमा सक्रिय भएका छन् । स्थानीय सरकार र विकास साझेदार संस्थाको सहकार्यमा प्राप्त तालिमपछि उनीहरूले आफ्नै घरबाट व्यवस्थित रूपमा सेवा प्रदान गर्न थालेका हुन् ।

वडा कार्यालय र सामुदायिक विकास समाज (सिडिएस) मन्थलीको समन्वयमा गरिएको तालिमको प्रभाव स्वरूप चिसापानीमा हाल तीनवटा महिला समूहले होमस्टे सञ्चालन गरिरहेका छन्।

स्थानीय महिलाहरू शान्ता श्रेष्ठ, ममता श्रेष्ठ र शोभा श्रेष्ठले भीमसेन मन्दिर होमस्टे समूह मार्फत पाहुनालाई परम्परागत गाउँले आतिथ्य सत्कार, शुद्ध वातावरण र स्वादिलो परिकारसहितको सेवा दिइरहेका छन् ।

तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्दै गाउँमै आत्मनिर्भर बन्ने अभ्यास थालनी गरिएको समूहकी सदस्य शान्ता श्रेष्ठले बताइन् । उनले भनिन्, ‘हामी कहाँ गाउँघरमै पाइने अर्ग्यानिक वस्तुहरूबाट परिकार बनाइन्छ । जसको स्वादकै लागि टाढाबाट पाहुनाहरू आउनुहुन्छ ।’ 

सदरमुकाम मन्थलीको गर्मी छल्दै चिसापानीको शीतल मौसम, हरियाली र शान्त परिवेशको अनुभव लिन धेरै मानिस चिसापानी पुग्ने गरेका छन् । समूहकी अर्की सदस्य ममता श्रेष्ठ भन्छिन्, ‘हाम्रो सेवा अझै धेरैलाई थाहा छैन । तर भक्तपुरदेखि पनि पाहुनाहरू आउनुहुन्छ । हामी तीनै जना मिलेर पाहुनाको स्वागत–सत्कार गर्दै खाना, बासको सेवा दिँदै आएका छौं ।’

होमस्टेमा बासको शुल्क अत्यन्तै सुलभ छ । एक रातका लागि मात्र ५०० रुपैयाँमा आरामदायी बसोबास र ठीकै मूल्य तिरेपछि स्वादिलो गाउँले खाना पाइन्छ ।

सामुदायिक विकास समाज (सिडिएस)का खरिद तथा लजिस्टिक अधिकृत टक घतानीका अनुसार, महिलालाई सशक्त बनाउन तालिमसँगै व्यावसायिक योजना, सामग्री र प्रविधिमा समेत सहयोग गरिएको हो ।

मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठले महिलाहरूको होमस्टे सञ्चालनलाई उदाहरणीय भन्दै स्थानीय तहको पहलले स्वरोजगारको राम्रो आधार तयार भएको बताए । 

‘गाउँमै महिलाले व्यावसायिक पहल थालेको यो काम अनुकरणीय छ,’ उनले भने, ‘यसले आर्थिक सशक्तिकरणसँगै चिसापानीको पर्यटन विकासमा पनि टेवा पुर्‍याउनेछ ।’

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully