कालीबहादुर खाम पनि कारागार फर्किए

भारतीय कैदीमध्ये एकजना आफै हाजिर भए, चारजना पक्राउ

आश्विन २, २०८२

रमेशकुमार पौडेल

Kali Bahadur Kham also returned to prison

चितवन — भरतपुर कारागारबाट बाहिरिएका कैदी र थुनुवामध्ये आधाभन्दा बढी आफै कारागारमा फर्केका छन् । फर्केर आउनेमा कालीबहादुर खाम पनि रहेका छन् । खाम माओवादीको तत्कालीन लडाकुको तेस्रो डिभिजनको कमाण्डर थिए ।

तेस्रो डिभिजनको अस्थायी शिविर रहेको चितवनको शक्तिखोर ब्यारेकमा कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या भएपछि १५ वर्षसम्म फरार रहेका खाम २०८०  सालको चैतमा पक्राउ परेका थिए ।

कोटेश्वरबाट 'अपहरण गरेर' २०६५ सालको वैशाखमा शक्तिखोरमा ल्याइएका श्रेष्ठको कुटपिटबाट हत्या भएको भन्दै डिभिजन कमाण्डर खामविरूद्ध मुद्दा दायर भएको थियो । त्यसपछि लामो समय पक्राउ पर्नबाट जोगिएका खाम गिरफ्तार भएपछि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन चितवन जिल्ला अदालतले दिएको आदेशबमोजिम भरतपुर कारागार चलान भएका थिए ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न कारागारमा कैदीबन्दीले प्रदर्शन गर्न र कारागार तोडेर भाग्न सुरू गरेका थिए । भरतपुर कारागारमा भदौ २५ गते अवस्थवा तनावपूर्ण हुँदै गएपछि कारागारमा रहेका सबै कैदी बाहिरिएका थिए ।

प्रशासनले सोही दिन नै कारागारबाट निस्केका सबै कैदीलाई तत्काल फर्कन र नफर्कनेलाई पक्राउ गरी थप कारबाही गर्ने सूचना निकालेको थियो । सूचनाअनुसार आफै फर्कने कैदी र थुनुवाहरूलाई भने केही नगर्ने प्रशासनले जनाएको थियो ।

कालीबहादुर खाम भदौ ३० गते भरतपुर कारागारमा हाजिर भएको कारागार प्रमुख रविन्द्र ढुंगानाले बताए । भरतपुर हाजिर भएका उनलाई दुई दिन राखेर काठमाडौं केन्द्रीय कारागार सरूवा गरेको पनि उनले जानकारी दिए ।

कारागार प्रमुख ढुंगानाले पुरूष, महिला र महिलामा आश्रित चारजना नाबालिग गरेर कारागारमा ७४२ जना थिए । भदौ २५ अगाावै कारागारमा रहेकामध्ये एकजनालाई नेपालगन्ज र एकजनालाई पोखरा बयानका लागि पठाएकोमा उनीहरू फर्किसकेका थिएनन् । कारागारमा ४६ जना महिला बन्दीहरू थिए । हालसम्म ३५ महिला बन्दी र थुनुवा तथा उनीहरूमा आश्रित दुई नाबालिगसमेत गरेर बिहीबार मध्याह्नसम्म कुल ४७३ जना भरतपुर कारागारमा आफै फर्केका छन् । यस बाहेक भरतपुरबाट बाहिरिएका १० कैदी तथा थुनुवा अन्यत्र पक्राउ परेको कार्यालय प्रमुख ढुंगानाले जानकारी दिए ।

भरतपुर कारागारमा रहेकामध्ये १४ जना पुरूष र तीनजना महिला कैदी तथा थुनुवाहरू भारतीय नागरिक थिए । कारागारबाट बाहिरिएकामध्ये चारजना भारतीय पुरूष कैदीलाई सुनौली बोडरबाट भारतीय सुरक्षा अधिकारीले नेपाल फर्काएका छन् । एकजना भारतीय आफै कारागारमा हाजिर भएको ढुंगानाले बताए । अरूको खोजी भइरहेको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully