सम्बन्धित कार्यालयका कर्मचारीहरुलाई सामान एकिन गराएर फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
What you should know
हेटौंडा — जेन—जीको आन्दोलनको क्रममा विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयहरुबाट चोरी तथा लुटपाट गरी लिएका सामानहरुमध्ये प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिएका सामानहरु सम्बन्धित कार्यालय र मन्त्रालयलाई हस्तान्तरण गरेका छन् ।
आन्दोलनको क्रममा लुटपाट तथा चोरी गरेर लगिएका सामानहरुमध्ये प्रहरीले खानतलासी गरेर केही फेला पारेको र केहीले प्रहरी कार्यालयमा आएर फिर्तासमेत गरेका सामानहरु मंगलबार सम्बन्धित कार्यालय र मन्त्रालयका कर्मचारीहरुलाई हस्तान्तरण गरिएको हो ।
सम्बन्धित कार्यालयका कर्मचारीहरुलाई सामान एकिन गराएर फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए ।
प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१० टिसिएन क्षेत्रमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय हेटौंडाको लुटिएकामध्ये फेला परेका केही सामानहरु फिर्ता गरेको हो ।
प्रहरीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कम्प्युटर सेट ४ थान, दराज ३ थान, फोटोकपी मेसिन १ थान, फ्रिज १ थान, फ्रिज १ थान, कचौरा र प्लेट सेट ३१ थानलगायत २२ किसिमका सामानहरु हस्तान्तरण गरेको छ ।
यसैगरी बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौंडालाई कम्प्युटर सेट ५ थान, प्रिन्टर १ थान,कुर्सी ३ थान, र्याक १ थान, ईलेक्ट्रिक जग १ थानलगायत सामानहरु फिर्ता गरेको प्रहरीले जनाएको छ । विभिन्न मन्त्रालय र कार्यालयहरुको लुटिएका सामानहरुको खोजी कार्य प्रहरीले जारी राखेको छ भने फिर्ता गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।
आन्दोलनकारीहरुले भदौ २४ गते समाजिक विकास मन्त्रालय र मदनभण्डारी प्रतिष्ठान कार्यालय र सवारी साधनहरुका आगजनी गरेका थिए ।
