चितवन प्रशासनलाई लायन्स क्लबले दियो १५ थान कम्प्युटर र पाँचवटा प्रिन्टर

चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले थुप्रै संघ, संस्था निकाय र व्यक्तिहरू सहयोग गर्नका लागि प्रस्ताव लिएर आउने गरेको बताए ।

आश्विन १, २०८२

रमेशकुमार पौडेल

The Lions Club gave 15 computers and five printers to the Chitwan administration

What you should know

चितवन — जेन-जी प्रदर्शनका क्रममा आगलागी भएर क्षतिग्रस्त भएका कार्यालयहरूलाई सेवा सुरु गर्न सहज होस् भनेर लायन्स क्लबले चितवन जिल्ला प्रशासन कार्यालयलाई डेक्सटप कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ आरले मंगलबार १५ वटा डेक्सटप कम्प्युटर र पाँचपटा प्रिन्टर सहयोग गरेको हो । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ आरका डिष्ट्रिक गभर्नर नवराज सापकोटले पाँच लाख १० हजार रूपैयाँका सामग्रीहरू हस्तान्तरण गरेको बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले थुप्रै संघ, संस्था निकाय र व्यक्तिहरू सहयोग गर्नका लागि प्रस्ताव लिएर आउने गरेको बताए । सबैले दिने सहयोग जिल्ला प्रशासन कार्यालयले बुझ्ने र उपलब्ध भएका सामानहरू एकद्वार प्रणालीबाट अत्यावश्क परेका कार्यालयहरूलाई प्रथामिकतामा राखेर वितरण गर्ने विधि बनाएको उनले बताए । 

सहयोगको बाचा धेरै ठाउँबाट भएको र सुरुवात लायन्स क्लबले गरेको प्रजिअ अर्यालको भनाइ छ । जेन–जी प्रदर्शनको दोस्रो दिन भदौ २४ गते दिउँसो चितवनमा अदालत, मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय लगायत ८० भन्दा धेरै कार्यालयहरू प्रदर्शनकारीले आगो लगाएर क्षति पुर्‍याएको प्रजिअ अर्यालले जानकारी दिए ।

केही कार्यालयहरूमा बस्ने कुर्ची र चलाउने उपकरणहरू कुनै नबचेको उनको भनाइ छ । ‘सेवा सुरु गर्न  तत्कालका लागि ६०/६५ थान कम्प्युटर र सामान्य खालका भए पनि कुर्सीहरु आवश्यक छ । यी सामग्रीहरू सहयोगीहरूबाट जुट्ने देखिएको छ’ प्रजिअ अर्यालले भने । 

आगलागी र तोडफोडमा क्षतिग्रस्त भएका कार्यालयहरू बनाउने र पुन:निर्माण गर्छौं भन्ने सहयोगी र संघ संस्थाले पनि अभिलासासमेत राखेको अर्यालको भनाइ छ । जसका नाममा प्रदर्शन भयो उनीहरू नै सफा गर्न आउँछु भनेका थिए । तर तपाइँहरूले जे गर्नु भयो भयो अब हामी सफा गर्छौं भनेर आफूहरू कार्यालय सरसफाइमा जुटेको पनि प्रजिअ अर्यालले सुनाए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully