मंगलबार राति नौ बजे पहिरो खस्दा बाटो बन्द भएको थियो, अहिले सफा भए पनि पुन: पहिरो खसेपछि अवरूद्ध भएको छ।
चितवन — पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक मंगलबार रातिदेखि नै अवरूद्ध छ । भरतपुरको डिभिजन सडक कार्यालयले बुधबार बिहान सबेरैदेखि पहिरो सफा गर्न सुरु भएको जनाएको छ ।
तुइन खोलामा मंगलबार राति नौ बजे पहिरो खस्न सुरू भएपछि बाटो बन्द भएको हो । भरतपुरको डिभिजन सडक कार्यालयका साइट इन्जिनियर अर्जुन घिमिरेका अनुसार राति नौ बजे पहिरो खसेपछि सफा गरेर बाटो एकतर्फी खुलेको थियो ।
तर लगत्तै पहिरो खसेर सडक पुन:अवरूद्ध भएको घिमिरेले बताए । पहिरो खस्ने क्रम निरञ्तर रहेको उनले सुनाए । रातको समयमा माथिबाट खसेको ढुंगा र पहिरोको अवस्था देख्न नमिल्ने भएका कारण जोखिम हुन्छ । त्यसैले राति पहिरो सफा गर्न बन्द गरेको सडक कार्यालयका इन्जिनियर घिमिरेले बताए ।
बिहान झिसमिसेमै पहिरो सफा गर्न काम सुरू भएको उनले जानकारी दिए । ‘माथि पनि ठाडो भिर छ । यता तल सडकको अर्को किनारामा पनि सिधै नदी छ । त्यसैले रातमा काम गर्न त्यो ठाउँमा कठिन हुन्छ’ इन्जिनियर घिमिरेले भने । मुग्लिन नजिकको तुइन खोलामा यो पटक मात्रै नभएर पछिल्ला वर्षहरूमा पहिरोले निकै दु:ख दिँदै आएको छ ।
