प्रदर्शनमा क्रममा चितवनमा के-के भयो ? 

'मानविय क्षति रोक्न सकेपनि सार्वजनिक सम्पत्तीमा अकल्पनिय क्षति पुग्यो ।'

भाद्र ३०, २०८२

रमेशकुमार पौडेल

What happened in Chitwan during the demonstration?

चितवन — जिल्ला प्रशासन कार्यलय चितवनले प्रर्दशनका क्रममा चितवनमा के- के भयो भन्ने विवरण सार्वजनिक गरेको छ ।

प्रशासनका अनुसार प्रर्दशनका क्रममा चितवनमा १४ प्रर्दशनकारी र १२ प्रहरी घाइते भएको र ति मध्ये चारजना अझै उपचाररत भएको जनाएको छ । 

सोमबार जिल्ला सुरक्षा समितिको बैठकमा  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दुइ दिनमा प्रहरीले स्थिती नियन्त्रणमा लिन दुई सय राउन्ड रबर गोली,३ सय ५० सेल अश्रु ग्यास र केही हवाइ फायर गर्नुपरेको बताए । उनले 

प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको र गोलीको छर्रा लागेर तीनजना प्रदर्शनकारी घाइते भएको पनि बताए । 

आन्दोलनमा क्रममा २३ भदौमा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीको पार्वतीपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका थिए । त्यही बेला ग्याँस सिलिन्डर पड्कदा घाइते किशोरको उपचारका क्रममा निधन भएको पनि प्रशासनले जनाएको छ ।

त्यस्तै रत्ननगर नगरपालिका कार्यालयभित्र आगलागीमा निस्सासिएका एक पुरूषको पनि निधन भएको विवरण आएपनि यसको पुष्टी भइनसकेको प्रजिअ अर्यालले बताए । उनले पहिलो दिन भन्दा दोस्रो दिन अवस्था नियन्त्रण बाहिर पुगेको बताए । उनले भने, 'मानविय क्षति रोक्न सकेपनि सार्वजनिक सम्पत्तीमा अकल्पनिय क्षति पुग्यो ।'

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully