चितवन जिल्ला अदालतबाट हराएका सामान १९ वर्षीय युवकको डेरामा फेला

चितवन प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले अदालतबाट चोरी र लुटपाट गरी लगेका सामानसहित भरतपुर महानगरपालिका-१० हाकिम चोकमा रहेको डेराबाट युवक पक्राउ परेको बताए ।

भाद्र ३०, २०८२

रमेशकुमार पौडेल

Items lost from the Chitwan District Court were found in the camp of a 19-year-old youth

चितवन — भदौ २४ मा प्रदर्शनकारीहरूले चितवन जिल्ला अदालतमा आगो लगाउँदा महत्त्वपूर्ण अभिलेखहरू जलेर नष्ट भए । आगजनीपछि चोरीसमेत भयो । सोमबार चितवन प्रहरीले भरतपुरमा डेरा गरेर बस्ने युवकलाई पक्राउ गर्नुका साथै उनको कोठाबाट अदालतबाट हराएका सामानहरू पनि बरामद गरेको छ ।

चितवनको राप्ती नगरपालिका-६ घर भएका १९ वर्षका युवकको भरतपुर महानगरपालिका-१० हाकिम चोकमा रहेको डेराबाट सात थान मोबाइल सेट, काँसको थाल तीन सेट, एउटा टी टेबल, चार सय सिक्का पैसा, साना, ठूला गरेर तामाका ११ वटा कलश बरामद भएको छ ।

चितवन प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले अदालतबाट चोरी र लुटपाट गरी लगेका सामानसहित युवक पक्राउ परेको बताए । उनको डेराबाट कम्प्युटर टेबल एउटा, लागूआ‍ैषध ट्रामाडोलकाे चार हजार ९५० क्याप्सुल, चार वटा खुकुरी, दुई वटा हम्मर, तीनवटा स्टिल थाल र १५ वटा ग्लास पनि बरामद भएको छ ।

डिएसपी खनालका अनुसार आठ थान घडी र एउटा गितार पनि ती युवकको डेराबाट बरामद भएको छ ।

अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले अदालतमा आगजनी गरेर महत्त्वपूर्ण अभिलेख र फाइलहरू नष्ट गर्नुका साथै चोरी पनि भएको बताएका थिए । जसमा कम्प्युटरका हार्ड डिक्सदेखि लागूआ‍ैषधका स्याम्पलहरूसमेत थिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully