आगजनी र तोडफोडको भिडियो बाहिरिएपछि रास्वपाका पनौती नगर सभापतिले दिए राजीनामा 

भाद्र २९, २०८२

ज्योती श्रेष्ठ

काभ्रे — जेन–जीले अगुवाई गरेको आन्दोलनपछि भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको भिडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगर कमिटीका सभापति विवेक भट्टराईले राजीनामा दिएका छन् । 

सार्वजनिक भएका फोटो तथा भिडियोमा नगर सभापति भट्टराईले आन्दोलन तथा आरजकताको नेतृत्व गरेको देखिन्छ । २३ गते काठमाडौंको बानेश्वरमा भएको आन्दोलनमा धेरै विद्यार्थीहरूको मृत्यु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी नगर समितिले २४ गते बिहान ११ बजे पनौतीको बसपार्कमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । जसको नेतृत्व नगर सभापति भट्टराईले गरेका थिए । श्रद्धाञ्जली सभाको बहाना बनाउँदै उनले त्यहाँ भएको भीडलाई आन्दोलनमा परिणत गरे । 

nnत्यहीँ भीडलाई नेतृत्व गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईंको घरमा तोडफोड गर्न थाले । जुन सार्वजनिक भएको भिडियोमा देखिन्छ । हुमागाईंको घरको सिसा तोडफोड भएको छ, कार र बाइक भने जलाइएको छ । हुमागाईंका अनुसार, दिउँसो १ बजेको समयमा आएको आन्दोलनकारीको हुलले घरमा भएको कार र बाइकमा आगजनी गरेको र घरमा तोडफोड भएको छ । घरमा ताल्चा लगाइएकाले लुटपाट भने नभएको उनले बताए । यस घटनामा संलग्न भएका व्यक्तिहरूको छानबिन भएर कानुन बमोजिम कारबाही हुनुपर्ने उनको भनाई छ । 

nnआन्दोलनकारीले शिव हुमागाईंको गाडीलाई पनौती बसपार्कमा ल्याएर आगजनी गरेको दृश्यमा नगर सभापति भट्टराई आफैंले आगो लगाएको देखिन्छ । त्यहाँ आगजनी गरेपछि, त्यो हुल दिउँसो करिब २ः३० बजेको समयमा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको घरमा पुग्यो र त्यहाँ तोडफोड र लुटपाट भयो । नगर प्रमुख भण्डारीका अनुसार, आन्दोलनकारीले घरमा भएका सर–सामान लुट्नुको साथै सामानहरू जलाएका छन् । घटनामा संलग्नहरूको पहिचान भइरहेको छ । संलग्नहरूलाई आवश्यक छानबिन भई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । 

nnनगरप्रमुखको घरमा तोडफोडपछि, अर्को घटना नगर उप–प्रमुख गीता बञ्जाराको घरमा भयो । त्यस्तै, ४ बजेको समयमा उनको घरमा आएको आन्दोलनकारीको हुलले गर–गहना, सर–सामान लुट्नुको साथै घरमा तोडफोड र आगजनी गरे । उनका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीको नगर सभापति विवेक भट्टराईले नगरपालिकामा २३ गते भएको आन्दोलनमा मृत्यु भएकाहरूको सन्दर्भमा नगरपालिकामा ज्ञापन–पत्र बुझाउने र श्रद्धाञ्जली सभा कार्यक्रम गर्ने बारेमा जानकारी गराएका थिए । त्यो कार्यक्रमपश्चात् जनप्रतिनिधिहरूको निजी घर तथा सवारी साधनहरूमा तोडफोड तथा आगजनी भएको उनले बताइन् । उनका अनुसार, व्यक्तिगत मात्रै नभएर नगरपालिकाको ४ वटा भवन तथा सवारी साधनहरूमा पनि तोडफोड भएको छ । 

nnउप–प्रमुख बञ्जाराको घरपछि, आन्दोलनकारीले क्याप्टेन रामेश्वर थापाको घरलाई निशाना बनाए र त्यहाँ तोडफोड, लुटपाट तथा आगजनी गरे । त्यहीँ घटनाकै क्रममा करिब ७ बजेतिर पनौती नगरपालिकाका पूर्व नगर प्रमुख भीम न्यौपानेको मोबाइलमा फोन आयो । फोनमा राष्ट्रिय स्वतन्त्र पार्टीका पनौती नगरका सभापति विवेक भट्टराई बोले । नातामा भीम न्यौपाने सभापति भट्टराईका मामा पर्ने रहेछन् । उनले फोनमा, ‘मामा आन्दोलनकारीको टोली आउँदैछ, सुरक्षित बस्नुहोला,’ भीम न्यौपानेले भने । उनका अनुसार, त्यति भनेर उनले फोन राखे । ‘त्यो खबर गरेको १ मिनेटैमा आन्दोलनकारीले २ वटा घरमा तोडफोड, लुटपाट, आगजनी गरे,’ उनले भने, ‘उनले खबर गरे, तर अगाडि देखिएनन्, कता गए, थाहा छैन ।’ 

nnयी सबै घटनाहरू सामाजिक सञ्जालमा २४ गते नै सार्वजनिक भइरहे । सबैतिर सार्वजनिक भएपछि नगर सभापति भट्टराईले २५ गते बिहान फेसबुकमा आफूले पार्टीबाट राजीनामा दिएको उल्लेख गरेका थिए । उनले २५ गते नै लिखित रूपमै पार्टीबाट राजीनामा दिएको राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका सभापति प्रविन ढकालले बताए । उनका अनुसार, २४ गते पार्टीले श्रद्धाञ्जली सभा गर्न मात्रै निर्देशन दिएको थियो । यस प्रकारका क्रियाकलाप गर्नका लागि भने दिएको थिएन । उक्त घटनाहरू नगर सभापति संलग्न सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा देखेपछि उनीसँग स्पष्टीकरण पनि मागेको उनले बताए । उनलाई पार्टीले निलम्बन पनि गरेको उनले जानकारी दिए । उक्त घटनापछि उनले फेसबुकमार्फत राजीनामा दिएपछि उनी सम्पर्कविहीन छन् । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully