चितवन — चितवन जिल्ला अदालत भोलि सोमबारबाट आशिंक खुल्ने भएको छ । आइतबारको अदालतको आकस्मिक पूर्णकालीन बैठक र सरोकारवाला बीचको छलफलले यस्तो निर्णय गरेको अदालतका श्रेस्तेदार देवीराम भण्डारीले जानकारी दिए ।
अदालतले बन्दी प्रत्यक्षीकरण, म्याद थप, सिडिआर र जरूरी पक्राउ पुर्जी जारी गर्ने विषयमा काम सुरू गरिहाल्ने भएको छ । अदालतको नियमित काम कारबाही, मुद्दाको सुनुवाइका सम्बन्धमा आवश्यक व्यवस्थापन गरी पछि सूचना जारी हुने श्रेस्तेदार भण्डारीको भनाइ छ ।
अदालतमा तोडफोड र आगजनी भएपछि सरसफाइमा खटेका अदालतका एकजना कर्मचारीहरूले मुद्दाको अभिलेख रहने कोठाहरू ताकेरै आगजनी भएको बताए । पुराना अभिलेखहरू राखेको कोठा जुनका बारेमा अदालतकै धेरै कर्मचारीसमेत जानकार थिएनन् । ती कोठा पहिल्याएर आगजनी भएको कर्मचारीले सुनाए ।
अदालतका पुराना अभिलेख र फाइलहरू धेरै नष्ट भएका छन् । मुद्दा अभिलेख रहने कम्प्युटरको हार्ड डिक्ससमेत चोरेर लगेका कारण अदालतको अभिलेख मेटाउनका लागि नै योजनाबद्ध तरिकाले आगजनी र चोरी भएको देखिने कर्मचारीको भनाइ छ ।
जेनजीको नाममा भएको आन्दोलनका क्रममा अदालतमा आगजनी र लुटपाट हुँदा महत्वपूर्ण दस्तावेजलगायत सामग्री नष्ट भएको छ ।
