चितवन — बजार, यातायात र विद्यालय खुलेसँगै चितवनको जनजीवन लयमा फर्केको छ । तर क्षतिग्रस्त सरकारी कार्यालयहरुमा आइतबार सेवाग्राही देखिएनन् । जिल्ला प्रशासन कार्यालयले आइतबारबाट बजार, यातायात र विद्यालय खोल्न तथा सम्भव भएसम्मका कार्यालयबाट सेवा सुरु गर्न निर्देशन दिएको थियो ।
‘हामी कमसेकम नागरिकता दिने तयारीका साथ बसेका छौँ । नागरिकताका लागि वडाको सिफारिस हुनु पर्यो । यहाँ वडा कार्यालयमा पनि क्षति भएको छ,’ प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने । आइतबार दिउँसो प्रमुख जिल्ला अधिकारी अर्यालसँग भरतपुर महानगरपालिकाका केही वडाध्यक्षहरू के कसरी काम गर्ने भनेरै छलफलमा थिए । प्रमुख जिल्ला अधिकारी अर्यालले कम्तीमा सिफारिस र सामाजिक सुरक्षाको काम नरोकिने गरेर तत्कालै सेवा सुरु गर्न वडाध्यक्षहरुसँग अनुरोध गरे । चितवनमा जेन–जी युवाले भ्रष्टाचारविरुद्ध भदौ २३ मा प्रदर्शन सुरु गरेका थिए । भोलिपल्ट प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन, मालपोत, अदालतलगायत भरतपुर महानगरपालिका कार्यालय भवन, वडा कार्यालयहरू, अन्य पालिका र व्यावसायिक प्रतिष्ठान तथा निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाटसमेत भयो । प्रशासनले जारी गरेको निषेधाज्ञा र कर्फ्यु शनिबार बिहानसम्म कायम थियो ।
जिल्ला प्रशासनबाट प्राप्त जानकारी अनुसार वडा कार्यालय र प्रहरी युनिटसमेत गरेर जिल्लाभर ७९ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ । त्यसैगरी निजी घर र व्यावसायिक प्रतिष्ठानहरू १७ वटामा आगजनी भएको छ । ३१ वटा सरकारी कार्यालय सामान्य अवस्थामा रहेको प्रशासन कार्यालयले जनाएको छ । ‘जहाँ सेवा दिन सकिन्छ दिने, नमिल्ने भए सेवाग्राहीलाई यस कारणले सकिएन भनेर राम्रोसँग भन्नू होला भनेका छौँ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने । प्रशासनले क्षतिको विवरण संकलन र मूल्यांकनका लागि सात सदस्यीय टोली फिल्डमा खटाएको छ । सामानहरू क्षति पुगेर सेवा गर्न समस्या भएमा विभिन्न सामग्री सहयोग गर्न केही संघसंस्थाले इच्छा देखाएका छन् । इच्छुक संघसंस्थाले जिल्ला प्रशासनको समन्वयमा एकद्वार प्रणालीले त्यस्ता सामान सहयोग गर्न प्रमुख जिल्ला अधिकारी अर्यालले अपिल गरेका छन् ।
कारागार फर्के २७३ जना
प्रदर्शन बढ्दै जाँदा काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँबाट कैदीबन्दी कारागारमा हुलदंगा गर्दै फरार भएका थिए । चितवन भरतपुर कारागारमा कुनै ठूलो हुलदंगा नभए पनि अवस्था तनावग्रस्त हुने देखेपछि बुधबार बिहानदेखि कैदीबन्दी बाहिरिन सुरु भए । दिनभरमा कारागारमा रहेका सबै ७४२ कैदीबन्दीले कारागार छाडेका थिए । कारागारबाट बाहिरिएकामध्ये आइतबारसम्म २७३ जना कैदीबन्दी फर्केको जिल्ला प्रशासनले जनाएको छ । यसबाहेक भरतपुर कारागारका नभएर अन्य कारागारबाट फरार भएका थप १७ जना केदीबन्दीलाई पनि नियन्त्रणमा लिएर हाललाई भरतपुर कारागारमै राखेको चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।
