सेवा लिन आउनेसँग नम्र र विनयशील रूपमा संवाद गर्न निर्देशन
चितवन — अवस्था सामान्य हुँदै गएका कारण आइतबारदेखि चितवनका सबै विद्यालय र लामो तथा छोटो दुरीका सबै प्रकारका यातायात खुल्ने भएका छन् ।
शनिबार सम्पन्न कार्यालय प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो । जेन-जीको अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा दोस्रो दिन भदौ २४ मा आगजनी,तोडफोड र लुटपाटसमेत भएका कारण जिल्लाभर रातमा कर्फ्यु र दिनभर निषेधाज्ञा लाग्दै आएको थियो । जुन आज बिहानसम्म कायम थियो ।
आगजनी र तोडफोडले सदरमुकाम भरतपुरका अधिकांश सरकारी कार्यालय ध्वस्त जस्तै भएका छन् । स्थानीय तहका कार्यालयको अवस्था पनि यस्तै छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले सबै कार्यालयबाट भोलि आइतबारबाटै सेवा उपलब्ध गराउने भन्ने विषयमा छलफल भएको बताए । 'सबै कार्यालयले सम्भव भएसम्मका सेवाहरू उपलब्ध गराउने र सम्भव नहुने कार्यालयको हकमा सोही बमोजिमको प्रभावकारी सूचना सम्प्रेषणको व्यवस्था मिलाउने निर्णय भएको छ,' प्रजिअ अर्यालले भने । सेवा लिन आउनेलाई नम्र र विनयशील रूपमा प्रस्तुत भएर संवाद गर्न पनि प्रशासनले कर्मचारीहरूलाई निर्देशन दिएको छ ।
