चितवन — जेन-जी युवाहरूले भ्रष्टाचारलगायतका विषयमा आन्दोलन चर्काएपछि भदौ २३ र २४ गते दुई दिन ठूलो जनधनको क्षति भयो । नारायणगढ पुलचोक न्युरोडको खनाल चोकमा १४ वर्षदेखि बिजुली पसल सञ्चालन गरेकी गीता पौडेल ढकाल आन्दोलनपछि पसल आउनै सकिनन् ।
शनिबार पसलमा भेटिएकी गीताले भनिन् ,'आज पसल खोलेँ । बजारमा केही चहलपहल छ । आन्दोलनका क्रममा त्यति धेरैको ज्यान गयो । त्यत्रो धवंस,आगजनी र तोडफोड भयो । म त धेरै निराश थिएँ । पसल पनि आउन सकेको थिइनँ,' गीताले भनिन् । प्रधानमन्त्रीमा सुशीला कार्की चयन भएपछि उनी उत्साहित भएकी छन् । चितवन उद्योग संघको महिला समितिको पूर्व सचिवसमेत रहेकी गीताले भनिन्,'देश आर्थिक रूपमा पहिल्यै समस्यामा थियो । जुन तहको आन्दोलन भयो त्यसले झनै ठूलो क्षति भएको छ । तर राजनैतिक आन्दोलन आवश्यक थियो । यस्तो चुनौतीपूर्ण अवस्थामा मुलुक हाँक्न सहज छैन । त्यसैले धेरै आशा नभए पनि केही राम्रो हुन्छ भन्ने संकेत प्रधानमन्त्रीमा सशीला कार्की चयन भएपछि देखिएको छ ।'
nनारायणगढका होटल व्यवसायी कृष्ण महतोले सुशीला कार्कीबाट आशा जागेको बताए । 'उहाँ आमा जस्तै लाग्यो । आमाले जसरी घरपरिवार राम्रोसँग सम्हालेको हुन्छ देशमा पनि त्यस्तै होलाझैँ लागेको छ,' होटल व्यवसायी संघ चितवनका सचिवसमेत रहेका महतोले भने । चितवनमा प्रशासनले लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा शनिबारबाट पूरै हटेको छ । योसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ । आइतबारदेखि भरतपुरका निजी विद्यालयहरू पनि खोल्ने प्याब्सनको निर्णय छ ।
