हेटौंडा — जेन–जीले अगुवाई गरेको आन्दोलनपछि विभिन्न कारागार र बालसुधारबाट भागेका कैदीबन्दीहरुमध्ये हेटौंडामा २ सय ७ जना पक्राउ परेका छन् ।
भीमफेदी कारागारबाट भागेका ४४० जना कैदीबन्दीमध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले मकवानपुरका विभिन्न स्थानबाट १ सय १७ जना पक्राउ गरेका छन् । ३२३ जना अझै फरार छन् । भीमफेदी कारागारको ‘क’ र ख ब्लकको पर्खाल भत्काएर बुधबार राति साढे १२ बजे ४४० जना कैदीबन्दी फरार भएका थिए । ‘फरार भएकामध्ये १ सय १७ जनलाई पक्राउ गरियो, ३२३ जना अझै फरार छन्’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए । जेल फोडेर भागेकाहरूलाई कारागार प्रशासनले फोन गरेर फर्कनका लागि अनुरोध गर्दै आएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका—११ थानाभर्याङमा रहेको बालसुधार गृहबाट बुधबार बिहान ७२ जना बालकहरू भागेका थिए । तीमध्ये प्रहरीले बिहीबारसम्म ४५ जना नियन्त्रणमा लिएको छ भने २७ जना अझै फरार छन् । बालसुधार गृहका ९४ जना विज्याई गरेका बालकहरू रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँस्थित केन्द्रीय कारागारबाट भागेकामध्ये २० जना, नख्खु कारागारबाट भागेका कैदीबन्दीहरुमध्ये १२ जनालाई हेटौंडामा नियन्त्रणमा लिएको छ भने भरतपुर कारागारबाट भागेकामध्ये ४ जना र कास्की कारागारबाट भागेका २ जना, सिन्धुली र सिन्धुपाल्चोकबाट कारागारबाट भागेका १/१ जनालाई पक्राउ गरिएको छ । मकवानपुर प्रहरीले थप ३ जनालाई नियन्त्रणमा लिएको छ तर कारागार खुल्न सकेको छैन प्रवक्ता अर्यालले बताए ।
