सुनापति गाउँपालिका-३ मा ४० लाख रुपैयाँ लागतमा शिव मूर्ति स्थापना, धार्मिक आस्था र पर्यटनलाई सँगै अघि बढाउँदै।
What you should know
रामेछाप — रामेछापको सुनापति गाउँपालिका–३, हिलेदेवीस्थित सुनापति डाँडामा तामाङ समुदायले आफन्तको सम्झनामा बनाउने परम्परागत लहरे माने अहिले आकर्षणको केन्द्र बनेका छन् ।
एउटै रङ र आकारमा बनेका १ सय ८ मानेहरूले डाँडोलाई धार्मिक मात्र नभइ, घुम्न रमाउनेहरुका लागि रमणीय स्थलसमेत बनेको छ । त्यही डाँडाको तल्लो भागमा अवस्थित ३५ फिट अग्लो शिवको मूर्तिसहितको सुनापति महादेव मन्दिर छ ।
जहाँ पुग्न २ सय ६५ वटा सिँढी पार गर्नुपर्छ । यही महादेवको नामबाट गाउँपालिकाको नाम “सुनापति“ राखिएको हो। सुनापति डाँडामा रहेको तामाङ समुदायको परम्परागत लहरे माने र विशाल शिव मूर्तिले पछिल्लो समय आन्तरिक पर्यटक लोभ्याउन थालेका छन् ।
‘अग्लो सुनापति डाँडो धर्म, संस्कृति र पर्यटनको अद्भुत संगम हो,’ स्थानीय जेबी विश्वकर्माले भने, ‘पूर्वाधार विकाससँगै यो क्षेत्र धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ ।’ उनका अनुसार, स्थानीय सरकारका पहल र लगानीका कारण पर्यटन पूर्वाधारमा सुधार भएसँगै यसको प्रत्यक्ष प्रभाव देखिन थालेको हो ।
२ हजार २५० मिटर उचाईमा अवस्थित सुनापति डाँडा प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । बौद्ध धर्मावलम्बीहरूको सांस्कृतिक भूमिका झल्काउने यस क्षेत्रले पछिल्लो समय हिन्दू तथा अन्य धर्मावलम्बीका पर्यटक पनि आकर्षित गर्न थालेको विश्वकर्माको भनाइ छ ।
रामेछाप नगरपालिका–८ का विवेक घिमिरेले सुनापति डाँडाको अनुभव फरक रहेको बताए । उनका अनुसार, राजधानी काठमाडौंबाट धेरै टाढा नपर्ने र सदरमुकाम मन्थलीबाट करिब तीन घण्टाको सडक यात्रापछि सजिलै पुग्न सकिने भएकाले पर्यटकलाई सहज गन्तव्य बन्न थालेको हो ।
‘सुनापति डाँडा विशेष गरी हिन्दू र बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण रहेछ,’ उनले भने, ‘यहाँ पुग्दा प्राकृतिक रमणीयताले छुट्टै आनन्द दिने रहेछ ।’
सुनापति गाउँपालिकाले पर्यटन पूर्वाधारलाई प्राथमिकता दिँदै करोडौंको लगानीमा नयाँ गन्तव्य निर्माण गरिरहेको छ । गाउँपालिकाको मर्याङग डाँडामा करिब ४० लाख रुपैयाँ लागतमा ५६ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ भने लामा टोलमा उस्तै बजेटमा पद्मसम्भवको भव्य मूर्ति स्थापना गरिएको छ ।
यी धार्मिक एवं सांस्कृतिक स्थलहरूलाई जोड्ने गरी १५ लाख रुपैयाँको लागतमा पर्यटन मार्ग पनि बनाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङका अनुसार ग्रामीण पर्यटनलाई आर्थिक स्रोतको रूपमा विकास गर्ने दीर्घ योजना गाउँपालिकाले अघि सारेको छ । ‘हाम्रो गाउँपालिकामा पाँच वटा वडा छन्,’ उनले भने, ‘यी सबै वडामा क्रमशः गौरवका योजनामार्फत धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको छ ।’
गाउँपालिकाले हरेक आर्थिक वर्ष करिब १ करोड ५० लाखदेखि २ करोड रुपैयाँसम्मको गौरवका योजना सञ्चालन गर्दै आएको छ । सोही योजना अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर ३ मा पर्यटन पूर्वाधार विकासमा विशेष जोड दिइएको गाउँपालिका अध्यक्ष तामाङले बताए ।
सो अवधिमा मात्रै सुनापति डाँडामा ४० लाख रुपैयाँ लागतमा ३५ फिट अग्लो शिवको मूर्ति निर्माण गरिएको छ । यस्तै, २५ लाखमा एक सय आठ परम्परागत लहरे माने, १० लाखमा आकर्षक स्टेज र १५ लाखभन्दा बढीको लागतमा पर्यटन मार्ग बनाइएको छ ।
अध्यक्ष तामाङका अनुसार धार्मिक आस्था, सांस्कृतिक मौलिकता र पर्यटकीय सम्भावनाले भरिएको सुनापति डाँडा आधुनिक पूर्वाधारसँग जोडिँदै आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
