चेपाङ समुदाय सामूहिक रूपमा न्वागी  पर्व मनाउँदै 

न्वागी पर्व भदौ महिनाभरि नै मनाउने भए पनि २२ गते सामूहिक रुपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरिन्छ ।

भाद्र २२, २०८२

प्रताप विष्ट

Chepang community collectively celebrating Nwagi festival

What you should know

हेटौंडा — सीमान्तकृत चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व सामूहिक रुपमा मनाउँदै छ । उक्त समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रुपमा छोनाम प्रत्येक वर्ष भदौ २२ गते सामूहिक रुपमा मनाउने गरेको छ ।

न्वागी पर्व भदौ महिनाभरि नै मनाउने भए पनि २२ गते सामूहिक रुपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरिन्छ । चेपाङ अगुवाहरु आइतबार बेलुका चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा भेला हुने त्यसपछि पर्व मनाइने नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए । 

चेपाङ  समुदायको बाक्लो बस्ती रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा आलोपालो गरी भदौ २२ गते छोनामलाई सामूहिक रुपमा भेला भएर उत्सवका रुपमा मनाउने गरिएको छ । आज सुरु भएर आफनो कूलअनुसार भदौ महिनाभरि नै न्वागी मनाउने परम्परा छ ।

'हामीले भदौ २२ गते न्वागीलाई राष्ट्रिय पर्वका रुपमा सामूहिक ढंगले मनाउँदै आएका छौं । हाम्रो जातिमा पनि विभिन्न थर हुन्छन्,' चेपाङ संघका अध्यक्ष गोविन्दरामले भने, 'उनीहरुको कूलअनुसार भदौको पूर्णिमादेखि भदौ महिनाभरि नै मनाउने गरिन्छ  । चेपाङ जातिका ६४ वटा थर रहेका छन् ।'

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि हो । न्वागी चेपाङ जातिको जीवनशैली र संस्कृति र पहिचानसंग जोडिएको पर्व हो । न्वागीमा चेपाङ झाँक्री पान्दे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चेपाङको संख्या ८४ हजार ३६४ छ । चेपाङहरु ३१ जिल्लामा रहेको पाइन्छ । चितवनमा चेपाङको संख्या ३५ हजार ६३७ छ भने  मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा ४ हजा २६८ छ ।  

चेपाङहरुको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिएको छ । गोरखाको गण्डकी गाउँपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ । यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully