मुख्यमन्त्री बानियाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र घोषणा कार्यविधि २०७९ मा तोकिएका पाँच चरणका २६ तह पूरा गरेको आधारमा रामेछाप नगरपालिका बालमैत्री स्थानीय सुशासनयुक्त घोषित भएको बताए ।
What you should know
रामेछाप — रामेछाप नगरपालिका स्थानीय सुशासनयुक्त पालिका बनेको छ । शनिबार विशेष समारोहबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रामेछाप नगर बालमैत्री घोषणा गरेका हुन् । नगरपालिकाका ९ वटै वडा यसअघि नै बालमैत्री स्थानीय सुशासनयुक्त घोषणा भइसकेका थिए ।
बाल संरक्षण, बचाउ, विकास, सहभागिता र संस्थागत विकासका ५१ वटै सूचक पूरा गरेपछि नगरपालिकाले उक्त मान्यता पाएको हो ।
मुख्यमन्त्री बानियाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र घोषणा कार्यविधि २०७९ मा तोकिएका पाँच चरणका २६ तह पूरा गरेको आधारमा रामेछाप नगरपालिका बालमैत्री स्थानीय सुशासनयुक्त घोषित भएको बताए । यससँगै नगरपालिका बालविवाहमुक्त र बालश्रममुक्त नगर बनेको उल्लेख गर्दै दिगोपनाका लागि सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
घोषणासभामा नगर प्रमुख लवश्री न्यौपानेले नगरपालिकाले सञ्चालन गरेका कार्यक्रम र उपलब्धि समेटिएको प्रतिवेदन सार्वजनिक गरे । उनका अनुसार, रामेछाप नगरपालिकामा १८ वर्षमुनिका १० हजार २४१ बालबालिका रहेका छन् । उनले भने, '२०७८ फागुन २ र ३ गतेदेखि नीतिगत रूपमा बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको भए पनि २०७९ असोज २५ गतेदेखि यसलाई सघन रूपमा निरन्तरता दिइएको हो । करिब चार वर्षको प्रयासपछि नगरपालिका बालविवाहमुक्त, बालश्रममुक्त र बालमैत्री बालमैत्री स्थानीय सुशासनयुक्त नगर बन्न सफल भएको छ ।' उनका अनुसार, गत जेठ २७ गते जिल्ला अनुगमन समितिको मूल्यांकनपछि सबै वडालाई बालमैत्री स्थानीय सुशासनयुक्त घोषणा गरिएको थियो । दिगोपनाका लागि आवश्यक योजना पनि नगरपालिकाले तयार गरिसकेको उनले जानकारी दिए ।
कार्यक्रममा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), बागमती प्रदेशका सामाजिक विकासमन्त्री कन्चनचन्द्र बादे र प्रदेश सांसद तारानारायण श्रेष्ठले बालमैत्री पालिका घोषणा ठूलो उपलब्धि भएको उल्लेख गरे ।
कार्यक्रममा बालबालिकाले सचेतनामूलक नाटक र सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
