पसलमा आगलागी हुँदा १५ लाख नगदसहित २ करोडको क्षति

आगो निभाउने प्रयासमा घाइते भएका लिलाराम जिम्बालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

भाद्र २०, २०८२

प्रताप विष्ट

1.5 lakhs in cash and 2 crores in damage due to fire in the shop

हेटौँडा — मकवानपुरको बकैया गाउँपालिका–५ गरगरेस्थित लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार आगलागी हुँदा १५ लाख नगदसहित करिब २ करोड मूल्य बराबरको क्षति भएको छ।

आगो निभाउने क्रममा ४५ वर्षीय घरधनी लिलाराम जिम्बा घाइते भए। उनलाई थप उपचारका लागि हेटौँडाबाट काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

पेट्रोलको ड्रमबाट सानो भाडामा पेट्रोल हाल्ने क्रममा ड्रम पल्टेर बलेको दियोमा पेट्रोल पोखिँदा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट दुई तले पक्की घर पूर्ण रूपमा जलेर क्षति भएको छ। सहकारी रकम घरमा ल्याएर राखिएको १५ लाख नगद, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, अन्नपात, लत्ता कपडा, फर्निचरलगायत सामान जलेर नष्ट भई करिब २ करोड मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ।

इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तीसुढे र अस्थायी प्रहरी पोस्ट गरगरेबाट खटिएको प्रहरी टोली तथा हेटौँडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको दमकलको सहयोगमा २ घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully