नाराणगढ-मुग्लिन सडकमा पुलकाे रेलिङ नै गायब

साेमबार बिहान सडक अनुगमनमा जाँदा पुलकाे रेलिङ नै गायब थियो । आइतबार राति रेलिङ चाेरी भएकाे अनुमान छ ।

भाद्र १७, २०८२

रमेशकुमार पौडेल

The railing of the bridge has disappeared on the Narangadh-Muglin road

चितवन — अति व्यस्त रहने नारायणगढ-मुग्लिन सडककाे नाम्सी पुलकाे रेेलिङ चाेरी भएकाे छ । भरतपुरकाे डिभिजन सडक कार्यालयका अनुसार साेमबार बिहान सडक अनुगमनमा जाँदा पुलकाे रेलिङ नै गायब थियो । आइतबार राति रेलिङ चाेरी भएकाे अनुमान छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले हाल पुलमा सुरक्षाका लागि रातकाे समयमा पनि देखिने पाइपहरू राखेकाे बताए । नयाँ पुलकाे आडैमा रहेकाे पुरानाे पुलकाे फलामका रेलिङ चाेरी भएका हुन् । यसबारेमा चितवन जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा जानकारी गराई चाेरी भएका सामान र चाेरी गर्ने व्यक्तिकाे खाेजी सुरू भएकाे पनि उनले बताए । नारायणगढदेखि झन्डै ३२ किलाेमिटर पर मुग्लिनतर्फ कालीखाेला नजिकै नाम्सी पुल छ ।

नारायढगढ-मुग्लिन सडक राजधानी काठमाडाैं र पर्यटकीय सहर पाेखरालाई जाेड्ने मुख्य मार्ग हाे । याे सडक हुँदै दैनिक १० हजारभन्दा बढी गाडी ओहोरदाेहोर गर्छन् । दिनरात व्यस्त रहने सडकमा भएकाे चाेरीलाई संवेदनशील रूपमा लिएकाे सूचना अधिकारी आचार्यले बताए । 'दुर्घटना राेक्न राखिएका पूर्वाधारकाे चाेरी सामान्य होइन गम्भीर अपराध हाे । यसमा संलग्नकाे खाेजी भइरहेकाे छ,' आचार्यले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully