पाँच दिनपछि खुल्यो तातोपानी नाका

इकोकै कारण सडक अवरुद्ध हुँदा तातोपानी नाका बन्द हुने अवस्थामा पुग्दा व्यवसायी सडक खुल्ने पर्खाइमा थिए । सीमाक्षेत्रमा अलपत्र परेपछि व्यवसायीले प्रतिकन्टेनर ५० हजार रुपैयाँसम्म थप खर्च गरेर भरियामार्फत तातोपानी ल्याउन थालेका थिए ।

भाद्र १५, २०८२

अनिश तिवारी

After five days, the Tatopani crossing was opened

What you should know

सिन्धुपाल्चोक — कोदारी राजमार्गको क‍ोदारी (इको)मा सोमबार अवरुद्ध सडक आइतबार खुलाइएसँगै उत्तरी नाका तातोपानी आइतबारबाट सञ्चालनमा आएको छ । हाल कार्यक्षेत्रमा खटिएका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतकाअनुसार पाँच दिनपछि तातोपानी नाका खुलेसँगै कन्टेनर भित्रिन थालेका छन् ।

'काम शुक्रबारबाट थालिए पनि आइतबार बल्ल सडक चलेसँगै नाका खुलेको छ, रोकिएका कन्टेनर भित्रिन थाले, तर आज पुन: वर्षात हुन थालेको छ, पहिरो खसेर नाका बन्द होला भन्ने त्रास छ,' उनले भने ।

इकोकै कारण सडक अवरुद्ध हुँदा तातोपानी नाका बन्द हुने अवस्थामा पुग्दा व्यवसायी सडक खुल्ने पर्खाइमा थिए । सीमाक्षेत्रमा अलपत्र परेपछि व्यवसायीले प्रतिकन्टेनर ५० हजार रुपैयाँसम्म थप खर्च गरेर भरियामार्फत तातोपानी ल्याउन थालेका थिए । चरिकोट सडक डिभिजन कार्यालयका अमित श्रेष्ठले वर्षातका कारण बगेको सडक मर्मतसम्भार र पुनर्निर्माण गर्न कठिनाइ भएको बताए । 

यसअघि झण्डै तीन सातापछि बल्ल खुलेको  तातोपानी नाका चार दिन चलेको थियो । त्यतिखेर ५०/६० कन्टेनर फलफूल, चाडपर्व लक्षित तयारी सामग्री नेपाल भित्रिएको थियो भने ३०/३५ खाली कन्टेनर यताबाट चीन प्रवेश गरेका थिए । हाल चीनको ल्हासा, सिगात्से, न्यालममा १४/१५ सय कन्टेनर उताकै महँगो गोदाम पार्किङमा रोकिएका छन् । उता केरुङमा ६/७ सय कन्टेनर यत्तिकै थन्किएका छन् । इको पहिरो पारि दर्जनभन्दा बढी कन्टेनर लिपिङ र कोदारी बजार आएर रोकिएका छन्  । 'यस अवधिमा लाखौं मूल्यका फलफूल सड्दा व्यवसायीले घाटा बेहोरेका छन् । यसअघि पनि फलफूल र लसुन कन्टेनरमै कुहिन थालेपछि भरिया लगाएर बोकाइएको थियो, सडकका कारण नाका सहज बनेन्,' व्यवसायी शारदाप्रसाद पराजुलीले भने । 

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully