हेटौंडाका सरसफाइ मजदुर सामाजिक सुरक्षा कोषमा आबद्ध

यहाँ फोहोर संकलन र व्यवस्थापन कार्यमा २१ महिलासहित ५३ मजदुर कार्यरत छन् ।

भाद्र १३, २०८२

प्रताप विष्ट

Sanitation workers of Hetaunda affiliated to Social Security Fund

हेटौंडा — हेटौंडा उपमहानगरपालिकामा फोहोर संकलन तथा व्यवस्थापन गर्ने मजदुरलाई स्वास्थ्य तथा सुरक्षाका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ ।

उपमहानगरपालिकाको दैनिक सरसफाइमा काम गर्ने मजदुरलाई सुरक्षा कोषमा संलग्न गराउने कार्यक्रमको  मेयर मीनाकुमारी लामाले बिहीबारर शुभारम्भ गरिन् । 'हेटौंडा नगरलाई सधैं सफा सुग्घर र स्वच्छ बनाउने कार्यमा संलग्न रहँदै आएका मजदुरहरुको वृत्ति विकासका निम्ति ग्रिन एन्ड क्लिन सिटीले  सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यको सुरुवात गर्‍यो । यो प्रशसंनीय छ,' उनले भनिन् ।

डा. आशिष खनाल र उपमहानगरपालिका-१० का अध्यक्ष फुर्वा दोर्जे तामाङले सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि त्यसबाट लाभग्राहीलाई हुने फाइदाका बारेमा जानकारी गराएका थिए ।

उपमहानगरको फोहोर व्यवस्थापन साझेदारी सस्था हेटौंडाको ग्रिन एन्ड क्लिन सिटीले फोहोर संकलन र  व्यवस्थापनको काम गर्दै आएको छ । फोहोर संकलन र व्यवस्थापन कार्यमा २१ महिलासहित ५३ मजदुर कार्यरत छन् । हेटौंडामा २०६६ सालदेखि फोहोर संकलन र व्यवस्थापन गर्दै आएको सिटीले दैनिक २६ टन फोहोर संकलन गर्दै आएको यसका सञ्चालक नवराज खतिवडाले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully