एसोसिएसनले नारायणी र राप्ती किनारका विद्यालयमा संरक्षण शिक्षा कार्यक्रम सञ्चालन गर्दै, बाघका खतराबारे जानकारी दिने काम गरेको छ।
What you should know
चितवन — नेचर गाइड अर्थात् निकुञ्ज, संरक्षित क्षेत्र र वनजंगलमा पर्यटक डुलाउने पथ प्रदर्शकको काम हो पाहुनालाई वन्यजन्तु, चरा, अन्य जीव जनावर र वनस्पति देखाउने र त्यसबारेमा जानकारी दिने। तर चितवनको मेघौली–घटगाई नेचर गाइड एसोसिएसनमा आबद्ध गाइडहरू नियमित काममा मात्रै सीमित छैनन्, उनीहरू जीव जनावर जोगाउने अभियानमा पनि सक्रिय छन्।
२०८१ सालमा गठन भएको एसोसिएसनमा हाल ११४ जना नेचर गाइड आबद्ध रहेको बिहीबार आयोजित दोस्रो साधारण सभाको उद्घाटन कार्यक्रममा अध्यक्ष मनेशकुमार लिम्बूले जानकारी दिए। लिम्बू सर्प उद्धारकर्ता समेत हुन्।
उनले यस वर्ष माडी र मेघौलीमा गरेर दुई वटा अति विषालु राज गोमन सर्प उद्धार गरेको बताए। अन्य सर्प कति उद्धार गरियो भन्ने गन्नै छाडिएको उनले उल्लेख गरे। चितवनमा प्रचलित भनाइ छ, सर्प देखे लट्ठी खोज्ने होइन, मनेशलाई बोलाऊ।'
यस वर्ष नेचर गाइडलाई सर्प पहिचान तालिम पनि दिएको उनले बताए। दुर्लभ पक्षी गिद्ध, लाटोकोसेरो, खोयाहाँस उद्धार गरिएको र अति दुर्लभ चरा खरमयुरको पनि नियमित अनुगमन भइरहेको उनले जानकारी दिए।
एसोसिएसनले नारायणी र राप्ती नदी किनारका विद्यालयहरूमा संरक्षण शिक्षा कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। गाउँमा आउने खतरा भएका बाघबारे जानकारी दिन–लिनेसम्म गरेका कारण मानवीय क्षति रोक्न मद्दत पुग्ने उनको भनाइ छ।
नेचर गाइडको स्वभाव नै संरक्षणमा दत्तचित्त भएर लाग्ने भएकाले रोजगार र संरक्षणलाई सँगसँगै अगाडि बढाएको अध्यक्ष लिम्बूको भनाइ छ। साधारण सभाका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत गणेश पन्त रहेका थिए।
