मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा लामा नियुक्त

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कांग्रेस मकवानपुरका सभापतिसमेत रहेका लामालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

भाद्र १२, २०८२

सुवास विडारी

Lama appointed Chief Political Advisor to Chief Minister Banyan

मकवानपुर — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामालाई नियुक्त गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कांग्रेस मकवानपुरका सभापतिसमेत रहेका लामालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार मन्त्रिपरिषद्को बैठकले जिल्ला समन्वय समिति सहयोग कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने र भरतपुर महानगरपालिका र अस्ट्रेलियाको मेरिबीच सिटी काउन्सिलबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श गर्न आवश्यक स्वीकृति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभिन्न मन्त्रालयमा छ जना सचिवलाई पदस्थापन गर्ने निर्णय पनि गरेको छ। निर्णयअनुसार ईश्वरचन्द्र मरठ्ठा भौतिक पूर्वाधार विकास मन्त्रालयमा, इन्द्रदेव भट्ट ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयमा, बलराम ढकाल श्रम तथा यातायात मन्त्रालयमा, झलकराम अधिकारी आर्थिक मामिला तथा योजना मन्त्रालयमा, इन्द्रदेव भारती युवा तथा खेलकुद मन्त्रालयमा र पूर्णबहादुर दर्जी सामाजिक विकास मन्त्रालयमा सचिवमा पदस्थापित भएका छन्।

त्यस्तै बैठकले करार र अस्थायी कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउने र चालु आर्थिक वर्षका लागि मन्त्रालयहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully