भीमेश्वर नगरपालिका-६ मा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ, घाइते चालकलाई नियन्त्रणमा लिएको छ।
दोलखा — दोलखाको भीमेश्वर नगरपालिका-६ रमितेडाँडानजिक मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर–५ माटीका २४ वर्षीय शिरीष बस्नेत र बैतेश्वर गाउँपालिका-३ मिर्गेका श्याम बहादुर खत्री (दाहाल) रहेको प्रहरीले जनाएको छ ।
मंगलबार राति ९ बजेतिर बा ५३ प ८८९९ नम्बर र बा ०३–०३४ प ३२४२ नम्बरको २२० मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते भएका दुवैलाई राति नै उद्धार गरेर अस्पताल लगिएकोमा उपचारका क्रममा दुवैजनाको मृत्यु हो । मृतकमध्ये बस्नेत गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापति हुन् ।
दाहाल सवारी चालक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
