जनकौली वनमा जिप सफारी सुरु

जिपमा बसेर वन डुल्ने र वन्यजन्तु हेर्दै रमाउन पाउने यो अवसर अब चितवन निकुञ्जको प्रमुख पर्यटकीय क्षेत्र सौराहा आडको जनकौली मध्यवर्ती सामुदायिक वनले पनि बुधबारदेखि सुरु गरेको छ ।

भाद्र ११, २०८२

रमेशकुमार पौडेल

Jeep safari starts in Jankauli forest

What you should know

चितवन — जिप सफारी चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले गर्ने मुख्य गतिविधि हो । निकुञ्जभित्र मात्रै नभएर जोडिएका मध्यवर्ती सामुदायिक वनमा पनि जिप सफारी फष्टाउँदै गएको छ । जिपमा बसेर वन डुल्ने र वन्यजन्तु हेर्दै रमाउन पाउने यो अवसर अब चितवन निकुञ्जको प्रमुख पर्यटकीय क्षेत्र सौराहा आडको जनकौली मध्यवर्ती सामुदायिक वनले पनि बुधबारदेखि सुरु गरेको छ । रत्ननगर नगरपालिका–५ मा पर्छ जनकौली मध्यवर्ती सामुदायिक वन ।

जसको पश्चिम सिमाना सौराहासँग जोडिएको छ । १ सय ६ हेक्टर क्षेत्रफल रहेको वनको पुर्वी दक्षिण हुँदै ढुंग्रेखोला बग्छ, उत्तरमा बस्ती छ ।  सिसौ रोपेर हुर्काएको वनमा पहिला गाईभैंसी चर्ने चरन क्षेत्र थियो ।  

वन समितिका उपाध्यक्ष रूदल चौधरीले पहिला यस ठाउँमा गाउँभरका वस्तुभाउ चर्न आउने गरेको बताए । ‘सुरुमा यहाँ २०/२५ वटा सिमलका रुख थिए । २०५० सालतिर हामीले सिसौ रोपेर हुर्काएको ठाउँ हो यो । अहिले पो हराभरा वन भयो,’ उपाध्यक्ष रुदलले भने । घाँसदाउरा बेचेर आम्दानी लिन नसकिने भएपछि पर्यटन मार्फत आर्जन गर्न लागेको उनले बताए । २०६५ सालदेखि जनकौली मध्यवर्ती सामुदायिक वनले पुर्वीदक्षिण सिमाना भएर बग्ने ढुङ्ग्रे खोलामा डुंगा सफारी गर्न सुरु गरेको थियो ।

पाँचवटा डुंगाबाट सुरु भएको सफारीमा अहिले ११ वटा डुंगा चल्ने गरेको रुदलले जानकारी दिए । डुंगा सफारीबाट मात्रै नभएर जिप सफारी पनि थप गरी वनको आम्दानी बढाउने र संरक्षण क्षेत्रमा प्रभावकारी लगानी गर्ने योजनाका साथ जिप सफारी सुरु गरेको वनका अध्यक्ष जोगेन्द्र महतोले बताए । वनका १७ सय घरधुरी उपभोक्ता छन् । जसमा ६० प्रतिशत आदिवासी थारु समुदायका रहेको उपाध्यक्ष रुदलले बताए । ‘अहिले १५ लाख रुपैयाँ हाराहारी वनको वार्षिक आम्दानी छ । जिप सफारीबाट कम्तीमा १० लाख रुपैयाँ थप गर्ने योजना छ । संरक्षणबाट पर्यटन र पर्यटनबाट संरक्षणलाई नै टेवा दिने हाम्रो सोच हो,’ उपाध्यक्ष रुदलले भने । पर्यटनबाट प्राप्त आम्दानी संरक्षण कार्य र उपभोक्ता हितमा खर्च हुने उनले बताए । जनकौली वन चितवन निकुञ्जसँगै जोडिएको छ । त्यसैले यहाँ गैंडा र बाघ ओहरदोहर गर्छन् ।

मृग प्रजातिको हुल नै देखिने उपाध्यक्ष रुदलले बताए । चरा अवलोकनका लागि पनि यो वन क्षेत्र उपयुक्त भएको उनको भनाइ छ । ढुङ्ग्रे खोलमा दुर्लभ घडियाल घाम ताप्दै बसेका हुन्छन् । ‘त्यसैले जिप सफारी र डुंगा सफारी गर्न पर्यटकले रुचाउने हाम्रो आशा अपेक्षा हो,’ रुदलले भने । जनकौलीमा सफारी गर्न बिहान र बेलुकाका लागि गरेर पाँच वटा जिप दर्ता भएको उनले बताए । सफारीमा जानेले एक घण्टा जंगल डुल्न पाउने छन् । वन छिर्ने जिपबाट एक खेपको आठ सय रुपैयाँ प्रवेश शुल्क र थप पाँच सय रुपैयाँ संरक्षण शुल्क लिने उनले बताए । जनकौलीमा पर्यटकीय गतिविधि बढाउन वनभित्र टावर बनाउने र क्षेत्र बढाएर इचर्नी टापुसम्म पुर्‍याउन निकुञ्ज प्रशासनले सहयोगी भूमिका खेलोस् भन्ने उपाध्यक्ष रुदेलले अनुरोध गरे । चितवन निकुञ्ज आडका थुप्रै मध्यवर्ती सामुदायिक वनहरुमा यसअघि नै जिप सफारी सञ्चालन गरेर राम्रो आम्दानी लिएका छन् ।

मध्यवर्ती क्षेत्र हेर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारीसमेत रहेका संरक्षण अधिकृत अविनाश थापा मगरबाट प्राप्त जानकारी अनुसार यसअघि नै १५ वटा मध्यवर्ती सामुदायिक वनले जिप सफारी सञ्चालन गर्दै आएका छन् । चितवनको पुर्वी क्षेत्रका कुचकुचे, राप्ती एकता, देविस्थान, कुमरोज, टिकौली, मिलीजुली, चित्रसेन मध्यवर्ती सामुदायिक वनमा जिप सफारी हुँदै आएको छ । पश्चिम क्षेत्रका घैलाघारी, राधाकृष्ण, राप्ती नियन्त्रण वनमा पनि जिप सफारी हुन्छ । नवलपुरका दिब्यपुरी, प्रगतिनगर, नमुना, कृष्णसार र गुन्द्रेही ढकाहा मध्यवर्ती वनमा पनि जिप सफारी भइरहेको संरक्षण अधिकृत अविनास थापा मगरले बताए । चितवनसहित नवलपरासी (बर्दघाट सुस्ता पुर्व), मकवानपुर र पर्सा जिल्लामा फैलिएको चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा ७० भन्दा बढी मध्यवर्ती सामुदायिक वन छन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully