खैरो हेरोइनसहित दुई युवती पक्राउ

हेटौंडा बसपार्कबाट दुई महिलालाई ३ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

भाद्र ९, २०८२

प्रताप विष्ट

Two girls arrested with brown heroin

हेटौंडा — मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई युवतीलाई  पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोष्टका प्रहरीले ३ ग्राम १५० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित जितपुर–सिमरा उपमहानगरपालिका–२२ घर भई हाल हेटौंडा उपमहानगरपालिका–१०, बसपार्ककी २९ वर्षीया सम्झना थिङ र सिन्धुली  दुधौली नगरपालिका–९ घर भई हेटौंडा उपमहानगरपालिका–१०, बसपार्ककी २३ वर्षीया सोनिका क्षेत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र ३–०३–००१ ह १०३ नम्बरको अटोमा सवार भई आएका सम्झना र सोनिकाको साथबाट प्रहरीले लागुऔषध बरामद गरेको जनाएको छ । 

यसैगरी उनीहरुको साथमा रहेको मोबाइल चार्जरभित्र लागुऔषध जस्तो देखिने सेतो गिलो पदार्थ २२ ग्राम २० मिलीग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ । सेतो पदार्थको परीक्षणको प्रयास भइरहेको प्रहरीको भनाइ छ । 

प्रहरीले सम्झना र सोनिकालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully