नेपाल चेपाङ संघले २०६३ भदाै २२ देखि हरेक वर्ष याे दिन छाेनाम विशेष कार्यक्रम गर्दै आएकाे छ । अन्यले भदाै २२ अघिपछि पनि गाउँ, घर, टाेलमा छाेनाम मनाउँछन् ।
What you should know
चितवन — नेपाल चेपाङ संघ केन्द्रीय समितिले छाेनम पर्व उल्लासमय तरिकाले मनाउने निर्णय गरेकाे छ । अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङहरूकाे मुख्य पर्व हाे छाेनाम । नेपाल चेपाङ संघले भदाै २२ गते छाेनामकाे विशेष कार्यक्रम गर्दै आएकाे छ ।
याे पटक चितवन इच्छाकामना गाउँपालिका-६ कालीफखाेलामा मनाउने निर्णय भएकाे नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गाेविन्दराम चेपाङले बताए । संघकाे शनिबार सम्पन्न बैठकले यस्ताे निर्णय गरेकाे हाे । बारीमा फलेकाे नयाँ अन्न र अन्य बाली तथा फलफूल, कन्दमुल घरमा भित्र्याएपछि पहिला पितृलाई चढाएपछि मात्रै परिवारले खाने चलन चेपाङ समुदायमा छ ।
पान्दे अर्थात् पुजारीजस्तै भूमिकामा रहने चेपाङ समुदायका झाँक्रीले ढ्याङ्ग्राे ठटाउँदै नयाँ अन्न पितृलाई चढाउँछन्, यो क्रम रातभर चल्छ । छाेनामकाे गतिविधि नै यही हाे । नयाँ अन्न देउता या पितृलाई चढाउने चलन अन्य समुदायमा पनि छ । खास गरेर धान स्याहारेपछि चामल खानुअघि न्वागी गरिन्छ । छाेनाम पनि चेपाङ समुदायकाे न्वागी हाे भन्छन् केन्द्रीय अध्यक्ष गाेविन्दराम चेपाङ ।
चेपाङहरू चितवनसहित मकवानपुर, धादिङ र गाेरखाकाे पहाडी पखेरामा बस्छन् । धान फल्ने खेत प्राय: नहुने ठाउँमा बस्ने भएका कारण चेपाङ समुदायकाे मुख्य खाद्यबाली मकै हाे । मकै भदाैमा पाकेर तयार हुन्छ । मकैसँगै पाक्ने र खानलायक हुने अन्य बाली, फलफूल, तरकारी छाेनाममा पितृलाई चढाउने चेपाङले बताए ।
नेपाल चेपाङ संघले २०६३ भदाै २२ देखि हरेक वर्ष याे दिनमा छाेनाम विशेष कार्यक्रम गर्दै आएकाे छ । अन्यले भदाै २२ अघिपछि पनि गाउँ, घर, टाेलमा छाेनाम मनाउँछन् । भदाै २१ सम्म गाउँटाेलमा छाेनाम मनाएर २२ गते कालीखाेलाकाे केन्द्रीय कार्यक्रममा भाग लिने निर्णय भएकाे अध्यक्ष चेपाङले बताए ।
भदाैमा शुक्लपक्ष सुरु भएपछि छाेनाम मनाउन थालिन्छ । भदाै २१ मा देशभर जहाँ रहे पनि चेपाङ समुदायले आफ्नाे घरमा दीप प्रज्वलन गर्न संघले आह्वान गरेकाे छ । कार्यक्रममा समुदायकाे माैलिक पहिरनमा सहभागी हुन पनि संघले अनिवार्य गरेकाे छ ।
छाेनाम पर्वमा बागमती प्रदेश सरकारले चेपाङ बहुल तीन जिल्ला चितवन, मकवानपुर र धादिङमा तीन वर्षखि सार्वजनिक बिदा दिँदै आएकाे छ । २०७८ सालकाे जनगणना अनुसार देशभरमा चेपाङ समुदायकाे जनसंख्या ८४ हजारकाे हाराहारीमा रहेकाे नेेपाल चेपाङ संघले जनाएको छ ।
छाेनाम पर्वमा ढ्याङ्ग्रो ठटाउँदै चेपाङका पुजारी पान्दे । फाइल तस्बिर
