जन्मथलोमै उपेक्षित पुष्पलाल स्मृति पार्क, पाँच वर्षदेखि अलपत्र

पुष्पलाल स्मृति पार्क निर्माणमा राज्यको ध्यान नपुग्दा स्थानीय निराश भएका छन्।

भाद्र ७, २०८२

नवराज श्रेष्ठ

Neglected Pushpalal Memorial Park at birth place, lying idle for five years

What you should know

रामेछाप — नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप नगरपालिका–८ भंगेरीमा ‘पुष्पलाल स्मृति पार्क’ निर्माण कार्य कछुवा गतिमा छ। सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा अन्तर्राष्ट्रिय स्तरको संग्रहालयसहितको पार्क निर्माण गर्ने उद्देश्यसहित १० करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

करिब ५५ करोड रुपैयाँ लागत अनुमान गरिएको पार्कका लागि ५४ रोपनी जमिन अधिग्रहण भए पनि हालसम्म एउटा सभा हल, शौचालय र तीन आवासीय भवनमात्रै बनेका छन्। ती संरचनासमेत संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्।

स्थानीयवासी सुमित्रा श्रेष्ठ भन्छिन्, ‘अन्तर्राष्ट्रिय स्तरको संग्रहालयसहितको पार्क बन्ने भनेपछि यहाँका बासिन्दाको बास नै उठेको थियो। तर, अहिले बनेका भवनसमेत जीर्ण बन्दै गएका छन्, पार्क बन्ने ठाउँ जङ्गल बनेको छ।’

अर्का स्थानीय नरेशबाबु श्रेष्ठका अनुसार स्मृति पार्कका लागि भंगेरीको झन्डै ५४ रोपनी जग्गा अधिग्रहण भएको दशक नाघिसकेको छ। तर निर्माण कार्य भने अझै कछुवा गतिमै छ।

‘जग्गा अधिग्रहण भएको १० वर्षभन्दा बढी भइसकेको छ,’ उनले भने, ‘तर अहिलेसम्म एउटा सभा हल, शौचालय र आवासीय भवन बाहेक केही बन्न सकेको छैन। बनेका संरचनासमेत संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्।’

सहिद गंगालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदानलाई कदर गर्न भन्दै सुरु गरिएको यो स्मृति पार्क सरकारले बिर्सिएको अवस्थामा रहेको उनको गुनासो छ ।

पिता भक्तलाल श्रेष्ठ र माता तुलसीमायाका माइला सुपुत्रका रूपमा पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ मा भंगेरीमै भएको थियो। उनका दाजु सहिद गंगालालको पनि यहीँ जन्म भएको थियो।

भक्तलाल मालपोत अड्डा रामेछापमा कार्यरत हुँदा परिवारसहित भंगेरीमा डेरामा बस्ने गर्थे। त्यही डेराकै बीचमा दुई भाइ गंगालाल र पुष्पलाल जन्मिए र हुर्किए।

भंगेरीमा सुरु गरिएको स्मृति पार्कमा सङ्ग्रहालय निर्माण गरी पुष्पलाल र गंगालालले प्रयोग गरेका सामग्रीसहित कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित दस्ताबेज राख्ने योजना थियो। साथै दुवै दाजुभाइको सालिक निर्माण गरेर स्थायी स्मारक बनाउनुपर्ने योजना थियो। हाल पार्क क्षेत्रमा सानो ढङ्गामा कुँदिएको सालिक मात्रै छ। त्यही सालिक नजिक पुगेर सर्वसाधारण फोटो खिच्ने र ‘पुष्पलाल–गंगालाल उपेक्षित भए’ भन्ने गुनासो गर्ने गरेका छन्।

एमाले रामेछाप नगर कमिटीका अध्यक्ष रोशन पाख्रिनका अनुसार योजना अनुसार बजेट व्यवस्थापन नहुँदा स्मृति पार्क अलपत्र बनेको हो।

‘अहिले भंगेरीमा सानो ढुङ्गामा कुँदिएको गंगालाल र पुष्पलालको सालिक मात्रै छ,’ उनले भने, ‘यहाँ आउने नेता, कार्यकर्ता वा सर्वसाधारणले त्यही सालिक नजिकै फोटो खिचेर स्मरण गर्छन्। सबैले दुवै महान् व्यक्तिलाई उपेक्षित भएको महसुस गर्छन् र ‘किन यस्तो बिजोग ?’ भन्ने प्रश्न गर्छन्।’

उनका अनुसार, स्मृति पार्क निर्माणका लागि पटक–पटक बजेट माग्दा पनि सरकारले ध्यान दिएको छैन। ‘धेरै पहलपछि मात्रै चालु आर्थिक वर्षमा करिब ४ करोड रुपैयाँ छुट्याइएको छ,’ उनले भने, ‘तर ५५ करोड लागत अनुमान गरिएको परियोजनामा यो रकम छेउ पनि पुग्दैन।’

रामेछापका बागमती प्रदेश सांसद आनन्दकुमार श्रेष्ठले पुष्पलाल स्मृति पार्कका लागि अघिल्ला वर्षमा बागमती प्रदेश सरकारले सालिक निर्माणका लागि केही बजेट विनियोजन गरेको बताए । तर, स्मृति पार्क लामो समयदेखि अलपत्र अवस्थामा रहेको भन्दै उनले यसलाई राज्यले प्राथमिकतामा राखेर योजना अनुसार छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

‘प्रदेश सरकारका तर्फबाट विगतमा सालिक निर्माणका लागि केही बजेट विनियोजन भएको थियो,’ उनले भने, ‘तर विडम्बना, यस पटक प्रदेश सरकारले बजेट दिन सकेन। तर पनि मेरो प्रयास भने जारी नै छ।’

एमालेका बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले महान् व्यक्तिहरूको जन्मभूमिमा सुरु भएको स्मृति पार्क निर्माणमा अपेक्षित रूपमा तदारुकता नपुगेको बताए।

‘महान् व्यक्तिहरूको जन्मभूमिलाई जे बनाउन भनिएको छ, त्यसमा तदारुकता केही कम भएजस्तो लाग्छ,’ उनले भने, ‘ढिलाइ भएको छ, सरकारको प्राथमिकतामा नपरेको हो कि भन्ने पनि लाग्छ।’

उनका अनुसार स्थानीयको गुनासो स्वाभाविक छ, किनकि स्मृति पार्क अहिले अलपत्र अवस्थामा छ। उनले राज्यले यसलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्नेमा जोड दिँदै भने, ‘यो वर्ष केही बजेट विनियोजन भएको रहेछ, त्यसलाई चाँडै कार्यान्वयनमा ल्याउन सबै लाग्नुपर्छ।’

सरकारले बीपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जामा ‘बिपी स्मृति पार्क’ र रामेछापको भंगेरीमा ‘पुष्पलाल स्मृति पार्क’ निर्माणको काम एकैपटक सुरु गरेको थियो।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully