निर्माण कम्पनीको लापरबाहीले रामेछाप–ओखलढुंगा सडकको बेहाल

सम्झौताअनुसार २०८० वैशाखमा सकिनुपर्ने सडक निर्माण अझै अधुरो छ भने यात्रु र विशेषगरी बिरामी समस्यामा परेका छन् ।

भाद्र ५, २०८२

नवराज श्रेष्ठ

Ramechhap-Okhaldhunga road is in disrepair due to construction company's negligence

What you should know

रामेछाप — पाँच वर्षअघि कालोपत्रको काम सुरु भएको रामेछाप र ओखलढुंगालाई जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडक अलपत्र बनेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण पुरानो संरचना भत्काएर छाडिएको सडकमा अहिले यात्रु र सवारीसाधन चलाउनु दुवै जोखिमपूर्ण बनेको छ ।

२०७७ कात्तिक २६ देखि सुरु भएको करिब ५२ किलोमिटर सडक कालोपत्र योजना सम्झौता अनुसार २०८० वैशाख २७ गतेभित्र सकिनुपर्ने थियो । तर, भारतीय कम्पनी टेलिकम्युनिकेसन कन्सल्टेन्ट इन्डिया लिमिटेड (टीसीआईएल) ले समयमै काम नगर्दा सडक वर्षौंदेखि अधुरो छ । भारतीय एक्जिम बैंकको ऋण सहयोगमा करिब १ अर्ब ९४ करोड रुपैयाँ लागतमा यो सडक योजना निर्माण सुरु भएको थियो । 

सालुदेखि साँघुटारसम्मको सडक अवस्था विशेष गरी कन्तबिजोक छ । हिलो, चिप्लो र खाल्डाखुल्डीका कारण सवारीसाधन घण्टौंसम्म फस्ने, यात्रुहरूले डोरीले गाडी तान्ने अवस्था बनेको छ । रामेछाप नगरपालिका–३ का माधव ढकाल भन्छन्, 'सम्झौताअनुसार २०८० वैशाखमै काम सकिनुपर्ने सडक अझै अधुरो छ । यस्तो भद्रगोल सडकमा यात्रा गर्दा हरेक दिन यात्रुहरूले ज्यान जोखिममा राखेका छन् ।' उनका अनुसार दैनिक एक हजारभन्दा बढी यात्रु यही बाटो भएर काठमाडौं र सदरमुकाम आउजाउ गर्न बाध्य छन्।

हिलो र बिग्रिएको सडकका कारण एम्बुलेन्ससमेत चल्न नसक्ने अवस्था आएको छ । बर्सातमा खास गरी गर्भवती, बिरामी र बुढाबुढीलाई अस्पताल पुर्‍याउन निकै सास्ती हुने गरेको ढकाल बताउँछन् ।

यातायात अवरुद्ध हुने र जनताले भोग्ने कठिनाइबारे रामेछाप नगरपालिकामा पटक–पटक गुनासो आइपरेको छ । तर कानुनी जटिलताका कारण नगरपालिका आफैंले मर्मत गर्न नसकेको नगर प्रमुख लबश्री न्यौपाने बताउँछन् । 'एउटै सडकमा दुई निकायबाट बजेट विनियोजन गर्न पाइँदैन । त्यसैले चाहेर पनि नगरपालिकाले सिधा काम गर्न सक्दैन । यो अवस्था हामी सबैका लागि दुर्भाग्य हो,' उनले भने । 

Ramechhap-Okhaldhunga road is in disrepair due to construction company's negligence

निर्माण कम्पनीका इन्जिनियर अभिषेक शर्माले समस्या भएका ठाउँमा मेसिन परिचालन गरी ग्राभेल हाल्ने लगायतका काम भइरहेको बताए । 'यात्रुलाई सहज बनाउन तत्काल प्रयास गर्दै छौं,' उनले भने । सडक बिग्रँदा स्थानीय हैरानीमा परेको स्वीकार गर्दै निर्माण कम्पनी टीसीआईएलका प्रतिनिधि डीसी शर्माले पनि तत्काल समस्या समाधान गर्ने र अब भने सम्झौताअनुसार समयमै काम पूरा गर्ने प्रतिबद्धता जनाए ।

पटक–पटक म्याद थपिँदा पनि सेलेघाट–साँघुटार सडक निर्माण अधुरै छ । तोकिएको समयमा काम नसकिएपछि ठेक्का पाएको कम्पनी टीसीआईएललाई फेरि एक वर्षको म्याद थपिएको आयोजना प्रमुख ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार हालसम्म करिब ६० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 'कम्पनीले पछिल्लो पटक थपिएको म्यादअनुसार २०८३ असारभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ,' कार्कीले भने ।

यातायातमा परेको असुविधाबारे बढ्दो गुनासोपछि जिल्ला प्रशासन कार्यालय रामेछापको नेतृत्वमा आयोजना कार्यालय, निर्माण कम्पनी र जनप्रतिनिधिसहित स्थलगत अनुगमन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । उनका अनुसार अनुगमनपछि यात्रुलाई समस्या नहुने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ । 'निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता ठेकेदारले जनाएको छ,' उनले बताए।

निर्माण कम्पनीको लापरबाहीले कन्तबिजोक बनेको सेलेघाट–रामेछाप–साँघुटार सडक । तस्बिर : कान्तिपुर 

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully