लागुऔषधसहित ४ जना पक्राउ

हेटौंडामा शंकास्पद अवस्थामा रहेका चार जनालाई प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित पक्राउ गरेको छ। अनुसन्धानका लागि म्याद थप गरिएको छ।

भाद्र ५, २०८२

सुवास विडारी

4 arrested with drugs

मकवानपुर — मकवानपुर प्रहरीले जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३ लेवटबाट २ जनालाई पक्रेको हो ।

शंकास्पद अवस्थामा बसिरहेका लेवटका २५ वर्षीय दिपेश सुनार र हेटौंडा–१३ का २६ वर्षीय सुशान्त थोकरलाई प्रहरीले लागुऔषधसहित पक्रेको हो । उनीहरूले लुकाएर राखेको अवस्थामा ६२० मिलिग्राम खैरो हिरोइन फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट थानाभर्‍याङको टोलीले हेटौंडा–११ थानाभर्‍याङबाट लागुऔषधसहित २ जनालाई पक्रेको छ । शंकास्पद अवस्थामा बसिरहेका हेटौंडा–११ का ३१ वर्षीय सञ्जय विक र २४ वर्षीय किरण सुनारलाई प्रहरीले पक्रेको हो । उनीहरूको शरीर खानतलासी गर्दा लागूऔषध ट्रामाडोल ९ क्याप्सुल, डाइजेपाम २३ एम्पुल र गाँजा २०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेका चारै जनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully