लोथर खोलामा पुल नहुँदा वर्षायाममा बिरामीलाई अस्पताल लैजान पनि समस्या छ ।
What you should know
हेटौंडा — सरोज चेपाङ हेटौंडाबाट चितवनको भण्डारास्थित चेपाङ मार्ग हुँदै शुक्रबार मोटरसाइकलमा घर जान लागेका थिए । राक्सिराङ गाउँपालिका-६ खरखण्डेमा रहेको घर पुग्न लोथर खोला पार गर्नुपर्छ । खोलामा बाढी आएकाले उनले मोटरसाइकल लैजान सकेनन् । किनारामा बसेका युवकहरूले मोटरसाइकल बोकेर पारि पुर्याइदिए ।
तर, सरोजले उनीहरुलाई भाडाबापत दुई हजार रुपैयाँ तिर्नुपर्यो । राक्सिराङ-६ सिलिङे घर भएका दिनेश चेपाङले पनि मोटरसाइकल तारेबापत दुई हजार नै बुझाए ।
वर्षायाम लागेपछि उक्त क्षेत्रका ८/१० जना युवाको काम नै मोटरसाइकल वारिपारि तारिदिनु हो । ज्यान नै जोखिमा राखेर काम गर्नुपरेकाले ढुवानी भाडा लिनुपरेको उनीहरु बताउँछन् ।
‘खोला अलि घटेको समयमा मोटरसाइकल बोकेर पार गराउँछन्,' राक्सिराङ-६ सिलिङेका सिंहबहादुर चेपाङले भने, 'एउटा मोटरसाइकल खोला तारेको युवाहरुले दुई हजार रुपैयाँसम्म लिने गरेका छन् ।’
लोथर खोलाले चितवनको राप्ती नगरपालिका-११ र मकवानपुरको राक्सिराङ-६ खरखण्डेलाई जोड्छ । तर यहाँ पक्की पुल छैन । राक्सिराङ ६, ७, ८ र ९ नम्बर वडाका बासिन्दा यही खोला तरेर आउजाउ गर्छन् । विकास निर्माणका सामग्री वा खाद्यान्न ढुवानीका लागि खोला पार नगरी विकल्पै छैन । गाउँमा उत्पादित कृषिजन्य वस्तु लैजान पनि सवारीसाधन प्रयोग गर्नुपर्छ । तर वर्षायाम लागेपछि लोथर खोलाका सवारीसाधन वारपार गर्न सक्दैनन् ।
चितवनको भण्डारा हुँदै सिलिङे, दामराङ, खरखण्डे सिलाधुनीलगायत बस्तीसम्म सवारीसाधन आउजाउ गर्छन् तर लोथर खोलाको कारण वर्षायाम लागेपछि सवारीसाधन ठप्प हुने गरेका हुन् । पुल अभावले दुई महिनायता यहाँ ठूला सवारी आउजाउ ठप्प भएको छ ।
तीन वर्षअघि उक्त क्षेत्रमा झोलुङे पुल बनेकाले खरखण्डे क्षेत्रका विद्यार्थीलाई स्कुल आउजाउमा त्यति समस्या छैन । चितवनको राप्ती-११ स्थित थाकलटारमा रहेको माविमा खरखण्डे र सिलिङेका तल्ला भेगका विद्यार्थी पढ्न आउने गर्छन् ।
लोथरमा पक्की पुल नबन्दा वर्षायाममा बिरामीलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लैजना समस्या रहेको राक्सिराङ गाउँपालिकाका पूर्ववडाध्यक्ष सिंहबहादुर चेपाङले बताए ।
पक्की पुल निर्माणका लागि गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग माग गर्दै आए पनि सुनुवाइ नभएको अध्यक्ष राजकुमार मल्लले बताए । 'त्यत्रो ठूलो पक्की पुल बनाउन हामीसँग बजेट हुँदैन,' उनले भने, 'पुल नभएकै कारण वर्षायाममा गाउँलेले निकै समस्या भोग्नुपरेको छ ।' यसै क्षेत्रका प्रदेश सांसद इन्द्रबहादुर बानियाँ बागमतीका मुख्यमन्त्री भएकाले पुल बन्ने आशा पलाएको उनी बताउँछन् ।
गाउँपालिकाले पुल निर्माणका लागि दुई वर्षअघि नै डीपीआर बनाएर प्रदेश सरकार र संघीय सरकारमा बजेटका लागि पालिकाले अनुरोध गरेको थियो । तर दुवै सरकारले बजेट विनियोजन नगरेको गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले बताए । पुलको अभावले वर्षायाम लागेपछि विकास निर्माणका कामसमेत सबै ठप्प हुने गरेको उनको भनाइ छ ।
सिलिङेस्थित माविकी प्रधानाध्यापक लालुमाया चेपाङले पनि लोथरमा पुलको अभावले यहाँका बासिन्दाले लामो समयदेखि समस्या भोग्दै आइरहेको बताइन् ।
