मकवानपुरगढी गाउँपालिका-३ फुट्सल चोकस्थित भित्री सडक खण्डमा मक्राञ्चुलीबाट हेटौंडातर्फ आउँदै गरेको ना ४३ प २०४० नम्बरको मोटरसाइकलले स्थानीय ९२ वर्षीया नन्दकुमारी न्यौपानेलाई बुधबार दिउँसो ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।
हेटौंडा — मकवानपुरको ग्रामीण सडकमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका-३ फुट्सल चोकस्थित भित्री सडक खण्डमा मक्राञ्चुलीबाट हेटौंडातर्फ आउँदै गरेको ना ४३ प २०४० नम्बरको मोटरसाइकलले स्थानीय ९२ वर्षीया नन्दकुमारी न्यौपानेलाई बुधबार दिउँसो ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।
न्यौपाने गाउँको सडकको छेउबाट हिँडिरहेको अवस्थमा मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते न्यौपानेलाई तत्कालै उपचार गर्न चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको थियो ।
अस्पतालका चिकित्सकहरुले वृद्धाको अवस्था गम्भीर भएको र उपचार गर्न कठिनाइ हुने बताएपछि हेटौंडामा नै ल्याएर बुधबार बेलुका सहकारी अस्पतालमा उपचार गर्ने क्रममा न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
वृद्धालाई ठक्कर दिने मकवानपुरगढी-३ का २४ वर्षीय मोटरसाइकल चालक सन्तोष थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
