मनहरी गाउँपालिका —६ हाङलाखस्थित पालबहादुरको घरमा परेको चट्याङले दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको चट्याङ लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।
हेटौंडा — हावाहुरीसँगै परेको चट्याङले मकवानपुरमा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । घाइतेहरुको मकवानपुरको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।
मनहरी गाउँपालिका —६ हाङलाखस्थित पालबहादुरको घरमा परेको चट्याङले दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको चट्याङ लागेर घटनास्थलमा नै मृत्यु भएको हो । घाइतेहरुमा मनहरी–६ हाङलाङका १२ वर्षीया वर्षा ग्लान, १२ वर्षीय सुजन ग्लान, १६ वर्षीय सन्तोष ग्लान, ३८ वर्षीय शान्ति तितुङ, ३४ वर्षीय प्रेम ग्लान, ३७ वर्षीय राजकुमार ग्लान र चितवन राप्ति नगरपालिका—११ का ४७ वर्षीय पानबहादुर मोक्तान छन् । अधिकांश घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पालबहादुरको घरमा किरियाको तयारी गर्नका लागि छिमेकी र आफन्तहरु आँगनमा भेला भएका थिए । आगनमा नै मंगलबार अपराह्न चट्याङ परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरिक्षक एव प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङबाट मकवानपुरमा गत आवमा ६ जनाको मृत्यु हुनको साथै २२ जना घाइते भएका थिए ।
