स्थनाीय किसान श्रेष्ठले धान जोगाउन नांगो तारले खेत बारेर करेन्ट छोडेका कारण त्यसमा परेर गैंडा मरेको भन्दै चितवन निकुञ्जले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।
चितवन — धानखेतमा करेन्ट लागेर गैंडा मरेको घटनामा पक्राउ परेका चितवन माडीका हरिभक्त श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
गएको साउन २१ गते बुधबार बिहान माडी नगरपालिका–२ भैरवपुरको धानखेतमा दुर्लभ एकसिंगे गैंडा मृत फेला परेको थियो ।
स्थनाीय किसान श्रेष्ठले धान जोगाउन नांगो तारले खेत बारेर करेन्ट छोडेका कारण त्यसमा परेर गैंडा मरेको भन्दै चितवन निकुञ्जले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । सो घटनामा सोमबार चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले श्रेष्ठलाई थुनामा पठाउने आदेश गरेको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
गैंडा दुर्लभ वन्यजन्तु भएका कारण चोरी सिकारी गर्न बन्देज लाग्नुका साथै यसलाई अन्य तरिकाले पनि हानि-नोक्सानी गर्न नपाउने कानुनी व्यवस्था छ । तस्करहरुले गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि गैंडा मार्छन् । पछिल्ला वर्षहरुमा बाली जोगाउन किसानले खेतमा थापेको अति जोखिमयुक्त विद्युतीय तारबारको धरापमा परेर पनि गैंडा मर्ने गरेका छन् ।
