नारायणगढ–मुग्लिन सडकको तुइनखोलामा ढुंगा खसेर बाटो अवरूद्ध

मुग्लिन सडकमा पहिरोले दुईतर्फी यातायात अवरुद्ध, सावधानी अपनाउन प्रशासनको आग्रह।

भाद्र १, २०८२

रमेशकुमार पौडेल

Narayangadh-Muglin road blocked road due to stone fall in Tuinkhola

What you should know

चितवन — पटक–पटक साना ठूला ढुंगा खस्दै आएको नारायणगढ मुग्लिन सडकको मुग्लिन नजिक तुइनखोलामा आइतबार बिहानपख ठूलै ढुंगाहरू खसेर बाटो पूर्णरूपमा थुनिएको छ ।

खसेको सुख्खा पहिरो हटाउन सुरू भएका कारण बाटो खुल्न धेरै समय नलाग्न सक्छ । तर, ढुंगाहरू खसी रहने स‍ो क्षेत्र हुँदै यात्रा गर्दा सावधानी अपनाउन चितवन प्रशासनले अपील गरेको छ । 

मुग्लिन ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहले आइतबार बिहान चार बजेर २० मिनेट जाँदा ठूला चट्टानका पत्रसहितको सुख्खा पहिरो खसेको जानकारी दिए । 

पहिरोले बाटो दुईतर्फी नै बन्द भएको छ । पाँच बजेदेखि पहिरो हटाउन सुरु भएको छ । भरतपुरको डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले सात साढे सात बजेभित्र गाडी चल्न सक्ने सम्भावना रहेको बताए ।

तुइन खोलामा पुल बनाउन पहाड काटेको ठाउँमा बेला बेलामा पहिरो र सुख्खा पहिरो जाने तथा साना ठूला ढुंगा पटक–पटक सडकमा खस्ने गरेका छन् । इच्छाकामना गाउँपालिका-५ मा पर्ने तुइखोला मुग्लिन बजारदेखि साढे दुई किलोमिटर पश्चिममा छ । 

पुलको नारायणगढ तर्फको भाग जोखिमपूर्ण छ । सो  ठाउँमा साउन चारमा एउटा भारतीय कारमाथि ढुंगा खसेर तीनजना घाइते भएका थिए । त्यसै गरी साउन २९ मा पनि भारतीय ट्रकमाथि ढुंगा खस्दा तीनजनालाई चोट लागेको थियो । 

नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक हो । यो सडक हुँदै दिनहुँ १० हजार गाडी ओहर दोहोर गर्दछन् । राजधानीको लाइफलाइन भनिने यो सडकलाई विस्तार गरेर एसियाली मापदण्ड अनुरूपको दुई लेनको फराकिलो बनाउनुका साथै सडक अनुरूपका फराकिला १८ वटा नयाँ पुल थपिएका छन् ।

तर सडक विस्तार गर्दा र पुल बनाउँदा पहाड काटेको ठाउँमा पहिरो र सुख्खा पहिरो खसेर दुख दिने समस्या अत्यधिक छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully