यस वर्ष करिब ७ हजार कन्या पुजिएको सनातन कन्या पूजा प्रबन्ध समिति उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए ।
What you should know
काभ्रे — १ सय २३ वर्षदेखि बनेपामा कन्यालाई पुजिँदै आएको छ । रजस्वला नभएका कन्याहरुलाई विसं १९५९ देखि बर्सेनि श्रीकृष्णजन्माष्टीको दिनमा पूजा गरिँदै आइएको हो । सोही परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
यस वर्ष करिब ७ हजार कन्या पुजिएको सनातन कन्या पूजा प्रबन्ध समिति उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए । उनका अनुसार, कन्याको पूजाका साथै उनीहरुलाई प्रसादस्वरुप समितिले स्वारी र पुरी प्रदान गरिएको र अन्य व्यक्तिहरुले पैसा, छोकडा, काजु, चकलेट, बिस्कुट, चाउचाउ, फ्रुटी लगायतका खानेकुरा दिएर कन्याहरुको पूजा गरेका छन् ।
कन्या–पूजामा प्रतिकन्या करिब ५ सय रुपैयाँ बराबरका सामग्रीहरु उपलब्ध गराइएको उनले जानकारी दिए । उनका अनुसार, दाताको सहयोगबाहेक खर्च समितिले नै गर्दै आएको छ ।
किंवदन्तीअनुसार रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्या, किन्नर–कन्या र किच–कन्या मानव–कन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थकता प्राप्त हुने धार्मिक विश्वास रहिआएको उनले बताए ।
‘कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइँगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए,’ उनले भने, ‘सोही प्रचलनलाई सुरुका वर्षमा नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आइए पनि केही वर्षपछि सबै जातजातिका कन्यालाई पूजा गर्न थालिएको हो ।’
भोलाखाँ टोलमा गणेश र कुमारको पूजा गरेपछि कन्या पूजा सुरु गरिन्छ । कन्याहरुलाई टीका, तेल, फूल, अक्षता, प्रसाद, दक्षिणा, मिष्ठान खानेकुरा चढाएर कन्याको पूजा गरिन्छ । पूजामा काभ्रेपलान्चोकसहित छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर, काठमाडौं, ललितपुर लगायतबाट कन्या पनि सहभागी हुने गर्छन् । कन्यालाई कन्याहरुलाई पूजा गरेमा कन्या पुज्ने तथा पुजिने दुवै निरोगी हुने जनविश्वास छ ।
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे, कांग्रेस महामन्त्री गगनकुमार थापा, बागमती प्रदेशसभा सदस्य तीर्थ लामालगायतले बनेपामा कन्याहरुको पूजा गरेका थिए । बनेपासँगै काभ्रेको बुडोल, भैंसेपाटी, धनेश्वर, धुलिखेल, पनौती, बाँसडोललगायतका स्थानमा अहिले यो संस्कृति विस्तार भएको छ ।
