चीनसँगको व्यापारिक नाका अवरुद्ध हुँदा व्यापारीले भरियामार्फत सामान भित्र्याउन बाध्य भएका छन् ।
सिन्धुपाल्चोक — अविरल वर्षासँगै कोदारी राजमार्ग (२६ किलोमिटर ) को विभिन्न स्थानमा सडक भास्सिँदा आवतजावत जोखिमपूर्ण बनेको छ । अर्बौंको लागतमा मर्मतसम्भार र कालोपत्र गरिएको बसेरी–लिपिङ पुरानै अवस्थामा फर्किँदा स्थानीय र यात्रु आजित छन् ।
बिहीबार कोदारी राजमार्गको बाह्रबिसे नगरपालिकाक्षेत्रमा पर्ने बसेरीमा करिब १५ मिटर सडक भासिँदा करिब ५ सय कन्टेनर मितेरी पुलपारि रोकिएका छन् । बाह्रबिसेका ट्राफिक प्रहरी छविलाल निरौलाका अनुसार सडक डिभिजनद्वारा मर्मत गरिए पनि यात्रा सहज छैन ।
उता, कोदारी बजारछेउको इको क्षेत्रमा ३० मिटरभन्दा बढी सडक भासिएर भोटेकोसीमा मिसिँदा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी १२ दिनदेखि अवरुद्ध छ । पहिरो रोकथाममा प्रभावकारी काम नभएकाले व्यापारीहरूले नासिने फलफूलदेखि मेसिनरीसम्मका सामान भरियामार्फत भित्र्याइरहेका छन् । 'इको खण्डमा सडक भास्सिएर नाका बन्द भएको पाँचौ पटक हो, भने यसबाहेक अन्य सडकभेग दसकिलो, बसेरी, महभीर जुरे, बलेफीजस्ता स्थानमा पहिरो र सडक भास्सिएर अवरुद्ध बनाइरहने समस्या देखिन्छ,' उनलेे भने ।
चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख अमित श्रेष्ठले अवरुद्ध स्थानमा धमाधम मर्मत भइरहेको बताए । 'अवरुद्ध सडक खोल्न प्रयासरत छौं, तर बर्खाभर भासिने क्रम नरोकिँदा समस्या भइरहेको छ,' उनले भने ।
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने अरनिको राजमार्ग अवरुद्ध हुँदा व्यवसायीले फलफूलदेखि मेसिनरीसम्मका सामान भरियामार्फत जोखिम मोलेर भित्र्याइरहेका छन् ।
