प्रा. डा. प्रमोदकुमार झाले टोनी हागनले किसानहरूको विकासमा जोड दिएको स्मरण गर्दै नेपालप्रतिको उनको प्रेमको चर्चा गरे।
काठमाडौँ — स्वीस वैज्ञानिक डा. टोनी हागनले नेपालको रूपान्तरणका लागि महत्त्वपूर्ण योगदान पुर्याएको बारेमा काठमाडौंमा आयोजित एक कार्यक्रममा परिचर्चा गरियो ।
वनस्पति समाज नेपाल र टोनी हागन फाउन्डेसन नेपालको संयुक्त तत्वावधानमा मंगलबार काठमाडौंको थापाथलीस्थित वनस्पति विभागको सुनाखरी हलमा टोनी हागनले नेपाल र नेपालीका लागि पुर्याएको योगदानका बारेमा विशेष प्रवचन गोष्ठी आयोजना गरिएको हो ।
प्रा. डा. प्रमोदकुमार झाले नेपाल र नेपालीलाई औधी माया गर्ने टोनी हागनले ‘किसान मूर्ख हुँदैनन् र हामीले उनीहरूसँगसँगै चौतारामा बसेर गाउँको विकास योजना कोर्नु पर्छ’ भनेको कुरा बताए ।
वनस्पति समाज नेपालका अध्यक्ष डा. सञ्जीवकुमार राईको अध्यक्षतामा भएको उक्त समाजको नवौं वार्षिक साधारणसभा समेत रहेको सो कार्यक्रमको उद्घाटन नेपालका चर्चित वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा नवीन दाहाललाई वनस्पति समाज नेपाल छात्रवृत्ति प्रदान गरिएको थियो । समाजका लागि सहयोग पुर्याउने महानुभावलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गर्दै कार्यक्रमका अध्यक्ष डा. सञ्जीवकुमार राईले वनस्पति समाज नेपालले टोनी हागन फाउन्डेसन, नेपालको साझेदारीमा आगामी दिनमा पनि अन्य रचनात्मक क्रियाकलाप गर्दै जाने बताए ।
