९१ वर्षीय हरिप्रसाद सापकोटाको मृत्युपछि पाँचै छोरीहरु अन्तिम संस्कार र काजकिरियामा आफै संग्लन हुन कस्सिएपछि आफन्ती र सिंगो समाज यस विषयमा विभाजित बने । तर राजनीतिक रुपले सचेत हरिका छोरीहरु आफ्नो कामलाई सामाजिक रुपान्तरणकै हिस्सा बनाउन अडिग छन् ।
What you should know
काठमाडौँ — काभ्रेको पनौती नगरपालिका - १ स्थित रयालेमा जे भइरहेको छ, त्यसलै धेरैको ध्यान त खिचेको छ नै, सिंगो रयाले नै यस विषयमा विभाजितसमेत बनेको छ । घटना सुरु हुन्छ, २५ साउनबाट । स्थानीय ९१ वर्षीय हरिप्रसाद सापकोटाको मृत्युपछि उनका ५ छोरीहरु बाबुको अन्तिम संस्कार र काजकिरियामा आफै संग्लन हुन कस्सिए ।
जबकी परिवारभित्रै पुरानो थिती पछ्याउँदै हरिप्रसादका दाजुभाइमध्येका कोही एक जना काजकिरियामा सरिक हुने कुरा भइरहेको थियो । तर पाँचै छोरीहरुले दागबत्ती दिने र काजकिरियाको बाँकी काम आफैले गर्ने विषयमा सरसल्लाह गरेर एक मत बनाएका थिए ।
मृतककी साइली छोरी बिमला सापकोटाले आफूहरुको निर्णय सुरुमा धेरैले सहज नमानेको बताइन् । भनिन्, 'विवाह भइसकेको छोरीहरुले यो काम गर्नुहुँदैन भन्ने धेरैको मत थियो ।' तर उनीहरु आफ्नो कुरामा अडिग थिए । बिमलाले छोरासरह छोरीहरुले पनि बुबाको अन्तिम संस्कार गर्न हुन्छ र गर्न सक्छन् भनेर आफूहरु अडिग भएको बताइन् ।
सामाजिक संरचनाले छोराले मात्र काजकिरिया गर्ने भन्ने धारणा प्रवर्द्धन गर्यो, जुन शास्त्रीय मत होइन ।- पण्डित दिनबन्धु पोखरेल
उनले सुनाइन्, 'आफन्ती र समाजका मान्छेले भनेभन्दा फरक काम भएपछि दाजुभाइ, आफन्त र समाजका अगुवाहरुबाट साथ पाएनौं । उहाँहरु अन्तिम संस्कारको काम नसकिँदै निस्कनुभयो ।' बिमलाका अनुसार सुरुमा त उनीहरुलाई दाजुभाइहरुबाट नै सामाजिक बहिष्कारको कुरासमेत आएको थियो । जेठी दिदी सुन्तली र माइली कमला स्वास्थ्य कारणले किरियामा सहभागी नभए पनि बाँकी तीन छोरीहरुले किरिया कर्म अघि बढाए । उनले भनिन्, 'समाजले हामीमाथि धेरै प्रश्न उठाएको छ, तरपनि हामीले हिम्मत हारेका छैनौं । बुबाको ईच्छा अनुसार हामीले अन्तिम संस्कारदेखि काज–किरियाको काम गरेका हौं ।’
राजनिति र सामाजिक परिर्वतनलाई नजिकबाट नियाल्ने स्वभावका हरिप्रसाद राजनीतिक गतिविधीमा पनि उत्तिकै क्रियाशिल थिए । त्यसैको प्रभाव उनका छोरीहरुमा पनि परेका थिए । त्यसैले त पाँचै छोरीहरु राजनीतिक रुपले सचेत थिए र धेरथोर सामाजिक अभियानहरुमा पनि सरिक थिए । साइली छोरी बिमला सापकोटा बनेपा नगरपालिका उप–प्रमुख छिन । उनी अखिल नेपाल महिला संघ, काभ्रे जिल्ला अध्यक्ष पनि हुन् । काइली छोरी निर्मला सापकोटा पेशाले शिक्षक हुन भने बुद्धिजीवी परिषद् काभ्रेको कोषाध्यक्ष पनि हुन् । कान्छी छोरी राधिका सापकोटा भने एमाले धादिङ जिल्ला सचिव तथा धादिङ अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुन् । बिमलालले राजनीतिक तथा सामाजिक परिवर्तनका बारेमा बुबाबाट सिक्दै आएकाले आफुहरु अन्तिम संस्कार र काज किरियामा पनि समाजसँग लडिरहेको बताइन् । भनिन, ‘हामीले गरेको कामप्रति असन्तुष्ट जनाउँदै कतिपयले छोरीहरूले किरिया गरेमा बहिष्कार गर्ने चेतावनीसमेत दिए । जसका कारण केही नजिकका आफन्त र गाउँलेहरू यस कार्यमा सहभागी हुन डराए ।’
मृतककी काइली छोरी निर्मलाले आफुहरुले बुबाले देखेजस्तै समाज परिवर्तनको अभियानमा क्रियाशिल भएको बताइन् । उनले आफ्नो परिवारले विवाहदेखि अन्त्येष्टि सम्मका कार्यक्रम सार्वजनिक र जनवादी ढंगले सम्पन्न गर्दै आएको र यस्ता काममा सधै केही समूहको विरोध र दबाबको सामना गर्नुपरेको अनुभव साटिन् । उनले परिवार, श्रीमान्, नजिकका आफन्त र युवा पुस्ताको दृढ साथका कारण आफुहरुले परिवर्तनको अभियान जारी राख्न सकेको बताइन् ।
मृतककी कान्छी छोरी राधिकाको मनमा तीन दशक पुरानो घटना खिल झै गढेको थियो । राधिकाका अनुसार आमाको मृत्युका बेला किरियामा बस्न खोज्दा समाजले रोकेको घटना उनको मनमा सधै नमिठो सम्झना बनेर बसेको थियो । उनले अहिले आफुहरुले चालेको कदम व्यक्तिगत भावनात्मक भन्दा पनि असमानता, अन्याय र विभेदविरुद्धको एउटा सांस्कृतिक आन्दोलन भएको बताइन् । भनिन, 'हामीले आगामी पुस्ताका छोरीहरूले पनि आफ्ना आमाबुबाको किरिया स्वतन्त्र रूपमा गर्ने अधिकार पाउनुपर्छ भन्ने सन्देश दिन खोजेको हो ।' राधीकाले सांस्कृतिक परिवर्तनको लडाई राजनीतिक आन्दोलनभन्दा अझ कठिन रहेको बताइन् । भनिन्, ‘किनकी यसले गहिरो रूपमा जरा गाडेका सोच र परम्परालाई तोड्नुपर्छ ।’
०००
हरिप्रसादको दाहसंस्कार किरियाकर्ममा छोरीहरु नै अग्रसर भएको कुराको प्रभाव यतिमै सीमित छैन् । पछिल्लो दुइ दशकयता हरिप्रसादको परिवारका सारा धार्मिक र अन्य रितिरिवाजमा एउटै पण्डित हुन्थे, मधुसुधन अधिकारी । हरिप्रसादको अन्तिम संस्कार विधीमा पनि उनी नै सहभागी भए । तर छोरीहरुले किरिया बस्ने बिषयमा समाज विभाजित हुन थालेपछि उनले बाँकी काममा सहभागी नहुने निर्णय लिए । उनले बरुको दबाबमा आएर यस्तो निर्णय नगरेको बरु आफ्नै इच्छा र विवेका भरमा यस्तो निर्णय लिएको दाबी सुनाए ।
पण्डित दिनबन्धु पोखरेल आजको समयमा छोरीले पनि काजकिरिया गर्ने संस्कारको विकास हुनु भनेको वैदिक मतसँग मेल खाने सकारात्मक परिवर्तनको भएको मत राख्छन् । उनले विवाहित वा अविवाहित छोरीबीच शास्त्रीय दृष्टिले कुनै फरक नरहेको बताउँदै दुवैले आफ्ना बाबुआमाको अन्त्येष्टिमा बराबरको भूमिका निर्वाह गर्न सक्ने बताए । ‘यद्यपि सामाजिक संरचनाले विवाहित छोरीलाई किरियाकर्ममा सीमित नगराउने प्रचलन बनाएको छ,’ उनले भने, ‘जसको आधार केवल गोत्र परिवर्तन र सामाजिक मान्यतामा मात्र आधारित छ, शास्त्रीय दृष्टिले होइन। जन्म दिने आमा–बुबाको रगतमा एउटै छोरी भएकाले छोरीलाई काजकिरियामा सहभागी गराउनु बराबरको अधिकार हो भन्ने धारणा यहाँ जोडिएको छ।’
उनले छोरीलाई काजकिरियामा सहभागी गराउनु समाजमा बढ्दै गएको सकारात्मक सांस्कृतिक परिवर्तनको सूचक भएको बताउँदै यस्तो अभ्यासले लैङ्गिक समानता र सामाजिक न्यायको प्रवर्द्धन गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘वैदिक कालदेखि नै छोराछोरीबीच कुनै विभेद थिएन र नारीलाई पनि पूजा र सम्मान गरिन्थ्यो । तर समाजमा समयसँगै विकास भएका सामाजिक संरचनाले छोराले मात्र काजकिरिया गर्ने भन्ने धारणा प्रवर्द्धन गर्यो, जुन शास्त्रीय मत होइन ।’
समाजशास्त्री निर्मला ढकालका अनुसार, पछिल्ला एक डेढ दशकमा धार्मिक र सामाजिक रीतिरिवाजमा केही परिवर्तन देखिएको छ, तर पूर्ण रूपमा स्वीकार वा अस्वीकार दुवै नभएको बताइन् । उनले पहिलादेखि छोराले मात्र गर्नुपर्ने मानिने केही धार्मिक रिचुअल (जस्तै श्राद्ध, किरिया आदि) अब छोरीहरूले पनि गर्न थालेको बताउँदै यसलाइ गहिरो रूपमा जरा गाडेको पितृसत्तात्मक सोच र अन्धविश्वासका विरुद्धको प्रतिरोध भएको बताइन् । भनिन, 'राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूद्वारा गरिएका यस्ता कार्यहरूलाई कहिलेकाहीँ अनावश्यक विवाद र प्रचारको रूपमा पनि लिइन्छ । समाजमा खुलेर समर्थन गर्नेहरू भए पनि पछाडि–पर्दा आलोचना गर्ने प्रवृत्ति विद्यमान छ ।' उनले परिवर्तनको गति सुस्त भए पनि स्वीकार्यता क्रमशः बढिरहेको बताइन् ।
