समाज सुरक्षामा उदाहरणीय बनेको भन्दै स्थानीय ६ जनालाई मंगलबार खादा लगाएर सम्मान गरिएको हो ।
काठमाडौँ — चितवनमा चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको भन्दै ६ जना स्थानीयलाई प्रहरी र जनप्रतिनिधिले सम्मान गरेका छन् ।
चोर समाउने स्थानीय दुर्गा गुरुङ, रामकृष्ण कोइराला, प्रकाश आचार्य, अभय अधिकारी, सुमन सापकोटा र मनोज गुरुङलाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी र भरतपुर महानगरपालिका–१३ का वडाध्यक्ष प्रकाश दवाडीले समाज सुरक्षामा उदाहरणीय बनेको भन्दै मंगलबार खादा लगाएर सम्मान गरेका हुन् ।
भारतपुर–१३ ब्रह्मपुरीका विष्णुबहादुर गुरुङको घरमा सोमबार राति सुनका दुइटा औंठी, एउटा हार, दुइटा माइली तिलहरी, दुइटा सुनका ब्रासलेट, दुइटा झुम्का, एउटा बाला, चन्द्रमा, फुली र चाँदीको ब्रासलेटसहित १ लाख ५० हजार रुपैयाँ चोरी भएको थियो ।
चोरीकै क्रममा मकवानपुरको बागमती गाउँपालिका–८ साततलेका ४२ वर्षीय दिलबहादुर सिन्तान र काभ्रेको तेमाल गाउँपालिका–५ पोखरी नारायणथानका ३५ वर्षीय मनराज तामाङलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।
