अशक्त, असहायको बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न निर्देशन

नेपाल राष्ट्र बैंकको संशोधित निर्देशनअनुसार आफ्नै हेरचाह गर्न नसक्ने अशक्त तथा असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजात संलग्न गरी खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था छ ।

श्रावण २७, २०८२

नवराज श्रेष्ठ

Instructions not to make National Identity Card mandatory for opening bank accounts of disabled and helpless persons

रामेछाप — जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै बैंक तथा शाखालाई अशक्त, असहाय र ज्येष्ठ नागरिकको बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न निर्देशन दिएको छ ।

सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि खाता खोल्न आएका सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र नभएको कारण सेवा अस्वीकार गरिएको गुनासो आएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकको संशोधित निर्देशनअनुसार आफ्नै हेरचाह गर्न नसक्ने अशक्त तथा असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजात संलग्न गरी खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था छ ।

यसबारे स्पष्ट पार्दै जिल्ला प्रशासन कार्यालयले उक्त प्रावधानको पूर्ण पालना गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रकाश प्रधानले बताए । उनका अनुसार नेपाल राष्ट्र बैंकको संशोधित निर्देशानुसार आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त तथा असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका आवश्यक कागजात संलग्न गरी पनि बैंक खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था स्पष्ट गरिएको छ ।

यो कुरालाई ध्यानमा राखेर बैंक तथा वित्तीय संस्थाले उक्त कानुनी प्रावधानको पूर्णपालना गरी सेवाग्राहीलाई सहजता दिनुपर्ने उनले बताए । निर्देशन कार्यान्वयन नगरेको पाइएमा सम्बन्धित निकायमा प्रतिवेदनसहित पठाइने समेत प्रशासनले चेतावनी दिइएको छ । जिल्लामा रहेका आठवटै स्थानीय तहलाई पनि यो जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय रामेछापको भनाइ छ ।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully