गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले

यस वर्षको नाग पञ्चमीदेखि जनैपूर्णिमासम्म करिब १० हजार भक्तजन गोसाइँकुण्ड पुगेका आकलन गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।

श्रावण २४, २०८२

रासस

The pilgrims of Gosaikund began to return

What you should know

रसुवा — जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाआजाका लागि पवित्र तीर्थस्थल  गोसाइँकुण्ड पुगेका तीर्थयात्री निलाद्री पर्वतबाट फर्केका छन् ।

सुरक्षाका लागि गोसाइँकुण्डमा बेसक्याम्प राखी बसेका प्रहरी निरीक्षक पन्नालाल यादवका अनुसार पूर्णिमा पर्वको दिन गोसाइँकुण्डमा स्नान गरेका करिब चार हजार भक्तजन आ–आफ्ना गन्तव्यतर्फ फर्किसकेका हुन् । 

आधाभन्दा बढी यात्री धुञ्चे पुगिसकेका जनाउँदै उनले आधाजसो भक्तजन चन्दनबारीको ओरालो झर्दै गरेका बताए । मेला अवधिभर सुरक्षा व्यवस्थामा कडाइ गरिएको, कुनै विवाद वा झगडा नभएको, कुण्ड स्नान गर्ने यात्रीलाई सहज बनाउनुका साथै परसम्म जानु नपर्ने व्यवस्था गरिएको, सुत्न नपाएको यात्रीलाई आरामका लागि व्यवस्था मिलाइएको, पवित्र तीर्थको वातावरण स्वच्छता राख्न कुण्ड वरिपरि सरसफाइ गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए । 

यस वर्षको नाग पञ्चमीदेखि जनैपूर्णिमासम्म करिब १० हजार भक्तजन गोसाइँकुण्ड पुगेका आकलन गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । उनका अनुसार यात्री बोकेर सात सय १५ सानाठूला चारपाङ्गे सवारी, चार सय वटा दुई पाङ्गे सवारीसाधन रसुवा प्रवेश गरेका छन् ।

सुरक्षा एवं उद्धारका क्षेत्रमा नेपाली सेना श्रीनाथ गण, सशस्त्र प्रहरी बल २० नम्बर गुल्म तथा नेपाल प्रहरीले र स्वास्थ्य उपचारका क्षेत्रमा गोसाइँकुण्ड गाउँपालिका, जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, नेपाली सेना, जिल्ला आयुर्वेदिक संस्था, हिमालय उद्धार सङ्घ, ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, नेकपा माओवादीको भातृ संस्था योङ कमिन्युष्ट लिगले उल्लेखनीय सहयोग पुर्‍याएका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 

विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायले मेला व्यवस्थापनमा प्रभावकारी सहजीकरण र समन्वय गरिदिएकाले मेला पूर्णरूपमा सफल भएको समितिका अध्यक्ष डिएमले उल्लेख गरे । तीर्थ आउँदा लेक लागि बिरामी परेका बिरामीमध्ये २० जनामा टाउँको र फोक्सोमा पानी जम्ने जटिल समस्या देखिएकाले सुरक्षाकर्मीको सहयोगमा सुविधायुक्त अस्पताल पठाइएको  चिकित्सकले बताएका छन् ।

रासस

Link copied successfully