काभ्रेको गोसाइँस्थानमा जनैपूर्णिमा मेला सम्पन्न

काठमाडौं उपत्यका, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगालगायतका भक्तजन यहाँ पूजा गर्न आउने गरेको उनले बताए ।

श्रावण २४, २०८२

ज्योती श्रेष्ठ

Janaipurnima fair held at Gosainsthan in Kavre

What you should know

काभ्रे — काभ्रेको बनेपा नगरपालिका-६ स्थित गोसाइँस्थानमा जनैपूर्णिमा मेला सम्पन्न भएको छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन गोसाइँस्थानमा मेला आयोजना गरिन्छ ।  

गोसाइँस्थानमा मेला भर्ने दर्शनार्थीहरुको शनिबार घुइँचो लागेको छ । मेलामा रक्षाबन्धन गर्ने भक्तजन र जनै फेर्नहरुको भीड लागेको गोसाइँस्थान संरक्षण समितिका निवर्तमान अध्यक्ष भेषराज शाहले बताए । 

उनका अनुसार, वर्षौंदेखि जैनपूर्णिमाका दिन मेला लाग्दै आएको उक्त स्थानमा भगवान् शिवले एकरात बिताएको र त्यहाँ गएर दर्शन तथा पूजाआजा गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास छ । 

जनैपूर्णिमाको दिन यो पवित्र तीर्थस्थलमा विभिन्न जाति, भाषा, धर्म, भेषभूषा र रहनसहन भएका समुदायका मानिसले आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ सहभागी हुने गर्छन् । 

काठमाडौं उपत्यका, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगालगायतका भक्तजन यहाँ पूजा गर्न आउने गरेको उनले बताए । 

Janaipurnima fair held at Gosainsthan in Kavre

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनहरु बनेपाको गोसाइँस्थान मन्दिरमा आई पूजाआजा र दर्शन गर्छन् । उक्त दिन ब्राम्हण समुदायले जनै र डोरो लगाउँछन् भने नेवार समुदायले अन्नपात चढाउने गर्दछन् । त्यसैगरी तामाङ समुदायले विभिन्न स्थानबाट आफ्नो घरपरिवार र इष्टमित्रहरुको साथमा झाँकीसमेत प्रदर्शन गर्ने चलन छ । 

गत वर्षको तुलनामा यस वर्ष मेलामा दर्शनार्थीहरुको उपस्थिति कमी भएको देखिएको छ । वर्षाको कारण दर्शनार्थी तथा भक्तजनहरुको उपस्थितीमा कमी भएको हो कि भन्ने अनुमान गरिएको उनले बताए  । ‘गत वर्ष करिब ८० हजार दर्शनार्थी तथा भक्तजनहरुको उपस्थिति रहेको थियो,’ उनले भने, ‘यस वर्ष करिब ५० हजार मात्रै उपस्थिति भएको अनुमान गरिएको छ ।’ 

जिल्लाका रोशी गाउँपालिकाको ताराखसेलेक, तेमाल गाउँपालिकाको नारायणस्थान, मण्डनदेउपुर नगरपालिकास्थित नगरकोट लगायतका क्षेत्रमा पनि श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको दिनमा विशेष मेला लाग्ने गर्छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully