आयुर्वेदिक उपचारप्रति आकर्षण बढेपछि सेवा विस्तार

जडीबुटीबाट बनेको औषधिले स्वास्थ्यमा सुधार ल्याएपछि रामेछापमा आयुर्वेद सेवाको लोकप्रियता बढ्दै गएको छ।

श्रावण २४, २०८२

नवराज श्रेष्ठ

Expansion of services due to increasing interest in Ayurvedic treatment

What you should know

रामेछाप — स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थालेसँगै रामेछापमा आयुर्वेदिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढेको छ । गत आर्थिक वर्षमा झण्डै ३१ हजार जनाले मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मार्फत विभिन्न सेवा लिएका छन् ।

जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित यस चिकित्सालयमा दैनिक आउने बिरामीको सङ्ख्या बढ्दो छ । दुर्गम गाउँका बासिन्दासमेत जडीबुटीको उपचारमा विश्वास गर्ने भएकाले यसको महत्त्व निरन्तर बढिरहेको रामेछाप नगरपालिका–८ बाबियाखर्कका लेखबहादुर विकले बताए ।

नशासम्बन्धी समस्याका कारण १५ दिनदेखि उपचार गराइरहेका उनले भने, ‘नेपाल र भारतका विभिन्न अस्पतालमा गए पनि खासै लाभ भएन, यहाँ आएपछि केही सहज भएको महसुस गरेको छु ।’ चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीका अनुसार अहिले २३ प्रकारका निःशुल्क आयुर्वेदिक औषधि वितरणसँगै प्रत्येक सोमबार निःशुल्क स्वास्थ्य परीक्षण गरिन्छ ।

Expansion of services due to increasing interest in Ayurvedic treatment

‘जडीबुटीबाट बनेको औषधिले शरीरका अन्य अङ्गमा असर नगर्ने भएकाले ग्रामीण बासिन्दा आयुर्वेदतर्फ बढी आकर्षित भएका छन्,’ उनले भने । चिकित्सालयमा ओपिडी, पञ्चकर्म, क्षारसूत्र, फिजियोथेरापी, अकुपञ्चर, ल्याब, परामर्श र आयुर्वेदिक औषधि वितरणजस्ता सेवा सञ्चालनमा छन् । 

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत होलबडी चेकअपसमेत निःशुल्क उपलब्ध गराइँदै आएको छ, जसअन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला, कलेजो, दिसा–पिसाबलगायतको परीक्षण र उपचार हुन्छ । यसअघि बसपार्क नजिक साँघुरो संरचनामा सञ्चालन हुँदै आएको चिकित्सालयले यही साउनदेखि आकाशेस्थित मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गरेको छ ।

Expansion of services due to increasing interest in Ayurvedic treatment

अध्यक्ष नवराज पथिकका अनुसार, हाल यसलाई आयुर्वेद अस्पतालका रूपमा सञ्चालन गरिएको छ । ‘बागमती प्रदेशमा आयुर्वेद अस्पताल सञ्चालन हुने रामेछाप तेस्रो जिल्ला हो,’ उनले भने, ‘जिल्लावासीलाई उच्चस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्यसहित सेवा विस्तार भइरहेको छ ।’

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसहित रामेछापमा ६ स्थानमा आयुर्वेद सम्बन्धी सेवा सञ्चालन संस्थाहरू छन् । मन्थली नगरपालिका–८ मा चिसापानी आयुर्वेद औषधालय सञ्चालनमा छ भने रामेछाप नगरपालिका–७ सुकाजोज, सुनापति गाउँपालिका–४ बेथान, गोकुलगंगा गाउँपालिका–३ रस्नालु र खाँडादेवी गाउँपालिका–८ भदौरेमा नागरिक आरोग्य सेवा केन्द्रहरू सञ्चालनमा छन् ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully