गाँजासहित दुई नाबालक पक्राउ

प्रहरीका अनुसार मकवानपुरमा आर्थिक वर्ष २०८१/०८२ मा मात्रै ६ हजार ४ केजी गाँजा बरामद भएको छ।

श्रावण २३, २०८२

प्रताप विष्ट

Two minors arrested with marijuana

हेटौँडा — मकवानपुर प्रहरीले गाँजासहित दुई नाबालकलाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टका प्रहरीले ९ केजी २ सय ग्राम गाँजासहित दुई नाबालकलाई पक्राउ गरेको हो।

  चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख ९५३३ नम्बरको यात्रुबाहक बसलाई  हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा बसमा सवार दुई नाबालकको साथबाट गाँजा बरामद गरेको थियो । नाबालकले बोकेको झोला शंका लागेर प्रहरीले खानतलासी गर्दा झोलाभित्र प्लाष्टिकमा प्याक गरेको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका नाबालकद्धयलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार लागुऔषध कारोबारीहरुले नाबालकलाई गाँजा ओसारपसार गर्न प्रयोग गरेको हुन सक्ने जनाएको छ ।

प्रहरीका अनुसार मकवानपुरमा आर्थिक वर्ष २०८१/०८२ मा मात्रै ६ हजार ४ केजी गाँजा बरामद भएको छ। लागुऔषध कारोबार र ओसारपसार गरेको आरोपमा १७ विदेश नागरिकसहित २८९ जना पक्राउ परेका थिए।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully