खुर्कोटको बेलिब्रिज मर्मत सुरु

खड्गदल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री कालीसिद्धि गणबाट खटिएको इन्जिनियरिङ युनिटले बिहीबारदेखि मर्मत कार्य अघि बढाएको छ।

श्रावण २३, २०८२

नवराज श्रेष्ठ

Khurkot's belay bridge repair started

What you should know

रामेछाप — रामेछापलाई राजधानी काठमाडौंसँग सबैभन्दा छोटो दूरीमा जोड्ने खुर्कोटमा जडान गरिएको बेलिब्रिजको मर्मत कार्य सुरु गरिएको छ । पुलमा लचकपन देखिएको, नटबोल्ट खुकुलो भएको र पाता हल्लिन थालेको गुनासो बढेपछि नेपाली सेनाले मर्मत थालेको हो ।

खड्गदल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री कालीसिद्धि गणबाट खटिएको इन्जिनियरिङ युनिटले बिहीबारदेखि मर्मत कार्य अघि बढाएको छ । सडक डिभिजन कार्यालय खुर्कोटका सब-इन्जिनियर होमेन्द्र कुमार यादवका अनुसार बेलिब्रिजको स्ल्याबमा प्रयोग भएका नट-बोल्टहरू लुज भएका छन् । उनले भने, 'लुज भएका नट-बोल्टहरू कस्ने र आवश्यक परे नयाँ फेर्ने काम भइरहेको छ। एक-दुई दिनमा काम सकिनेछ।'

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले यो नियमित मर्मत कार्य भएको स्पष्ट पारे। उनले भने, 'पुलमा आकस्मिक क्षति वा दुर्घटना नभएको अवस्थामा पनि नियमित रूपमा मर्मत गर्नुपर्ने हुन्छ। सवारी आवागमनलाई केही समय रोक्दै मर्मत कार्य भइरहेको छ।'

बेलब्रिजमा १५ टनसम्मको भारवाहक सवारीसाधन मात्र सञ्चालन गर्न मिल्ने भए पनि क्षमताभन्दा भारी सवारी पार गराउने गरिएको स्थानीयको गुनासो छ। तर नियमित अनुगमनका क्रममा स्थानीयको गुनासोअनुसार भएको नपाइएको प्रजिअ थापाको भनाइ छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ वेतिनी जोड्ने उक्त १०० मिटर लामो पुलको ५१ मिटर भाग गत वर्षको असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको थियो। त्यसपछि कात्तिक ६ गतेदेखि नेपाली सेनाले बेलिब्रिज जडान गरी पुल सञ्चालनमा ल्याएको थियो।

झन्डै १८ करोड रुपैयाँ लागतमा निर्माण भएको सो मूल पुलले मन्थली–काठमाडौंको दूरी करिब ७५ किलोमिटरले छोट्याएको छ। पुल मर्मतका क्रममा सडक डिभिजन कार्यालय खुर्कोट र नेपाली सेनाबीच आवश्यक समन्वय भइरहेको छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully