विद्यालय भवन ५ वर्षदेखि अलपत्र

नयाँ भवन निर्माणमा ढिलाइ हुँदा विद्यार्थी पुरानो भवनमा पढ्न बाध्य छन् ।

श्रावण १९, २०८२

नवराज श्रेष्ठ

The school building has been derelict for 5 years

रामेछाप — रामेछापको उमाकुण्ड गाउँपालिका–४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयको १८ कोठे नयाँ भवन पाँच वर्षदेखि अलपत्र बनेको छ । स्थानीयका अनुसार एसियाली विकास बैंक (एडीबी) को लगानीमा २०७८ सालमा निर्माण सुरु भएको उक्त भवन अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

भवनको मुख्य ठेकदार हिमाल अधिकारी हुन् । निर्माण कम्पनीले लामो समयदेखि काम रोकेर राख्दा भवन अलपत्र बनेको र संरचना पनि जीर्ण बन्दै गएको स्थानीय गणेश श्रेष्ठले बताए । 'एडीबीका एकजना इन्जिनियरले त उल्टै हामीलाई ९ करोडको काम ५ करोडमा ठेक्का लिएपछि समयमा कसरी सकिन्छ ? भन्ने प्रश्न गरेका थिए,' श्रेष्ठले भने ।

निर्माण व्यवसायीलाई भेट्न गाउँपालिका अध्यक्षसहित काठमाडौंसम्म धाउनुपरेको वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर सुनुवारले गुनासो गरे । 'हामीले काठमाडौं गएर काम छिटो गर्न आग्रह गर्‍यौँ । त्यस बेला काम गर्छौं भने । तर उनीहरूले काम गरेनन्,' उनले भने । भवन निर्माणको प्रगति कति भयो, कहिलेसम्म सकिन्छ भन्नेबारे अहिलेसम्म कुनै स्पष्ट जानकारी नभएको अध्यक्ष सुनुवारले बताए ।

१२ कक्षासम्म पढाइ हुने चण्डेश्वरी माध्यमिक विद्यालयले भवनको अभावमा पुरानै भवनबाट पठनपाठन गरिरहेको छ । 

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully