जीबी राईलाई पक्राउ गर्न माग गर्दै सहकारीका बचतकर्ता काठमाडौंमा

सहकारी मन्त्रीलाई भेटे, गृहमन्त्रीलाई आज भेट्दै, बचत रकम फिर्ता हुने वातावरण मिलाइदिन माग

श्रावण १९, २०८२

रमेशकुमार पौडेल

Cooperative savers in Kathmandu demanding the arrest of GB Rai

What you should know

चितवन — गीतेन्द्रबाबु राई अर्थात जीबी राई संस्थापक र सञ्चालक रहेको भरतपुरको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थासहित पाँच सहकारीका बचतकर्ताहरुले काठमाडौंमा सहकारी सम्बद्ध विभिन्न निकायका पदाधिकारीलाई भेटेर आफ्नो माग राखेका छन् । 

बचत रकम हिनामिना गरी फरार भएका जीबी राईलाई तत्काल समाउन र पीडित बचतकर्ताहरुले पैसा फिर्ता पाउने वातावरण बनाउनुपर्ने उनीहरुको माग छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी  निवारणमन्त्री बलराम अधिकारीलाई आइतबार भेटेर उनीहरुले सहकारीको बचत फिर्ता नपाएका पीडितहरुको समस्या समाधान गर्ने सम्बन्धमा विभिन्न उपाए र मागहरुसहितको ज्ञापनपत्र बुझाएका छन् । 

सहारा सहकारीमा जीबी राईसहित ३८ जनालाई प्रतिवादी बनाए पनि हालसम्म दुईजना मात्रै पक्राउ परेको र जीबीसहित अन्य फरार रहेको हुँदा सबैलाई पक्राउ गर्न उनीहरुले माग गरेका छन् ।

त्यसैगरी सहकारीबाट ऋण लिएका अन्य ऋणिलाई कार्यविधि तयार गरी ऋण बुझाउन आहृवान गर्ने र ऋण चुक्ता गर्ने ठाउँ पनि तोक्न आफूहरुले माग गरेको चितवन सहारा बचत पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले बताए । 

ऋण चुक्ता गर्छु भन्ने ऋणिलाई ऋण तिर्ने ठाउँ तोक्दिए सहारा चितवनमा तत्कालै १७ देखि १८ करोड रुपैयाँ उठ्ने सम्भावना रहेको दुवाडीले जानकारी दिए ।

‘त्यसैगरी ठगहरुले एकाघरका साथै साथीभाई अन्य इष्टमित्रका नाममा पनि सम्पत्ति लुकाएर राखेका छन् । यो पत्ता लगाइ बचत फिर्ता गर्नका लागि ठोस कदम चाल्न अनुरोध गर्दछौं,’ सहकारी मन्त्रीलाई बुझाएको पत्रमा उल्लेख छ । त्यसैगरी पीडित बचतकर्ताहरुले आइतबार नै ललितपुर पुल्चोकमा रहेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्षलाई पनि भेटेर ऋण असुल गर्ने र बचत फिर्ता हुने वातावरण बनाउन आग्रह गरेका छन् ।

उनीहरुले ऋण तिर्दछौं भन्ने ऋणिहरुलाई प्राधिकरणले सहजीकरण गर्नुपर्ने माग गरेका छन् । ‘ऋणीहरुले ऋण तिर्नका लागि यस सहकारी नियमन प्राधिरणले कानुन सम्मत एउटा छुट्टै बैंक खाता सिर्जना गरे ऋण चुक्ता हुन सक्ने देखिन्छ,’ प्राधिकरणलाई बुझाएको पत्रमा उल्लेख छ । 

त्यसैगरी सहकारी पीडित र ठगीका आरोपित व्यक्तिहरुले मिलापत्र गर्न चाहेमा प्राधिकरणले पहल गर्नुपर्ने आफूहरुको माग रहेको दुवाडीले बताए । सहकारीको रकममध्ये पाँच करोड रुपैयाँ स्थानीय तपरमा ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको दुवाडीको भनाइ छ । यस्तो ऋण तिर्न विधि र ठाउँ तोकेर ताकेता गर्नुपर्ने उनले बताए । 

अदालतमा मुद्दा गएको हुँदा अदालतकै फैसला कुरेर बस्ने हो भने लामो समय लाग्ने र पीडकहरुको रोक्का जायजेथाबाट पीडितहरुले बचत फिर्ता पाउने सम्भावना अत्यन्त न्यून रहेको हुँदा तत्कालै कुनै प्रवन्ध गर्नुपर्ने दुवाडीको भनाइ छ ।

‘पीडितहरुको रकम फिर्ता दिलाउन सहकारीका सञ्चालक र अन्य आरोपितहरुको शेयर, जग्गा जस्ता चल अचल सम्पत्ति रोक्का राखेका छौं । तर ती चल अचल सम्पत्ति कुनै न कुनै बैंकमा धितो राखेर रोक्का भएको पनि छ । अदालतको फैसला कुर्दा लामो समय लागे बैंकको ब्याज र हर्जना बढ्दै जाँदा त्यसबाट पीडितले रकम पाउने आशा झिनो छ,’ प्राधिकरणलाई बुझाएको पत्रमा उल्लेख छ ।

बरु समयमै ती सम्पत्ति बिक्री गर्न माग गरिएको छ । भरतपुरको सहारा चितवनसहित बुटवलको सुप्रिम सहकारी, पोखराको सुर्यदर्शन, वीरगञ्जको सानो पाइला र काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीका पीडित बचतकर्ताहरुले काठमाडौं पुगेर विभिन्न निकायहरुमा संयुक्त भेटघाट गरेका हुन् । 

यी सबै सहकारीका संस्थापक र सञ्चालक जीवी राई हुन् । आज सोमबार दिउँसो गृहमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको सहारा चितवन पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले जानकारी दिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully