यावल खोलामा राखिएको ह्युमपाइप बाढीले बगाएपछि कालिञ्चोक गाउँपालिका–१ कालिञ्चोक सडक सञ्जालबाट सम्पर्क विच्छेद भएको छ ।
What you should know
दोलखा — बाढीले कालिञ्चोक गाउँपालिका–१ कालिञ्चोकको सडक बगाएपछि दुई सातादेखि सम्पर्क विच्छेद भएको छ ।
बर्खामा यातायात सञ्चालनसहित स्थानीयलाई आउजाउ गर्न सहजताका लागि यावल खोलामा राखिएको ह्युमपाइप दुई साताअघि बाढीले बगाएपछि पूरै वडा सडक सञ्जालबाट बिच्छेदमा परेको हो ।
बाढीले यावल खोलाको ह्युमपाइप बगाएपछि यातायात पूर्ण ठप्प भएको छ । बालबालिका बर्खाको भेलमा खोलामा हेलिएर विद्यालय जान बाध्य छन् । सडक बगाएपछि गाउँमा खाद्यान्न ढुवानी ठप्प भएको छ । बिरामीलाई अस्पताल लैजान डोकोमा बोकाएर खोलामा हेलिएर लानुपर्ने बाध्यता भएको कालिञ्चोक–१ का वडाध्यक्ष पदम थामीले बताए । पानी परेका दिन विद्यालय पुगेका बालबालिका लिन अभिभावकले यावल खोलामा हेलिएर वारपार गराउने गरेको बताए ।
वैकल्पिक मार्गका रुपमा रहेको बिगु हुँदै जाने सडकमा समेत पुल नभएपछि बर्खामा खोला तर्न नसकिने हुँदा झन् समस्या भएको उनले बताए । ‘वडालाई सडक सञ्जालसँग जोड्ने मुख्य सडक नै यहीँ हो,’ उनले भने, ‘बर्खामा आउजाउ गर्न राखेको ह्युमपाइप पनि बगायो, खोला तर्न निकै कठिन छ, आउजाउ गर्न सकेका छैनौं ।’ यावल खोलामा भएको झोलुङ्गे पुल भूकम्पमा क्षतिग्रस्त बनेपछि सडक खनेर त्यसलाई विस्थापन गरिएको उनले बताए ।
‘यावल खोला तर्न झोलुङ्गे पुल पनि छैन्, ज्यान जोखिममा राखेर ठाडो खोला तर्नु पर्छ,’ उनले भने,‘लेकमा पानी परेपछि खोलामा बाढी आउँछ, सबै बिचार गरेर मात्रै हिँड्नुपर्ने बाध्यता छ ।’ गाउँमा बिरामी परिहाले यावल डोकोमा बोकेर तार्ने गरिएको उनले बताए । ‘बालबालिकालाई विद्यालयसम्म पुग्ने बाटो छैन् खोलामा हेलिएरै अभिभावकले लैजाने गरेका छन्,’ उनले भने, ‘बिरामी पर्दा डोकोमा बोकेर तार्छौं, दिनभर हिँडेर सडक भएको क्षेत्र पुगेर अस्पताल लैजान बाध्य भएका छौं ।’
खाद्यान्न ढुवानी गर्ने र सदरमुकाम चरिकोट, व्यापारिक केन्द्र सिंगटी पुग्ने मुख्य सुनखानी–साङ्बा सडक पनि बाढी र पहिरोले क्षतिग्रस्त बनाएपछि यो वडामा थप समस्या भएको उनले बताए । अल्पसंख्यक थामी समुदायको बाक्लो बसोबास रहेको कालिञ्चोकमा अन्नबालीले मुस्किलमा तीन महिना खान पुग्छ । स्थानीयको आम्दानीको मुख्यस्रोत आलु खेती हो । वडाका स्थानीयको मुख्य आयस्रोत बर्खे आलुसमेत सडक नभएपछि निर्यात हुन सकेको छैन । जसका कारण स्थानीय बेखर्ची हुन थालेको उनले बताए ।
