जोखिममा भटौली पुल, बाढीले कमजोर बनाउँदै छ पिलर

शनिबार बिहानको बाढीले पिलरमा गम्भीर असर पारेको छ भने सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ ।

श्रावण १७, २०८२

नवराज श्रेष्ठ

Bhatauli bridge at risk, six pillars weakened by floods

What you should know

रामेछाप — मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने भटौली पुल कटानको जोखिममा परेको छ । शनिबार बिहानको अविरल वर्षासँगै खोलाको बाढी सिधै ठोक्किँदा पिलरको संरचना कमजोर बन्दै गएको हो ।

स्थानीय केदारप्रसाद ढुंगेलका अनुसार केही दिनअघि पनि खोलाको बाढीले सामान्य असर पारेको भए पनि शनिबारको बाढीले पिलरमा अति प्रभाव पारेको छ। 'पकरबासपट्टिको पिलर अति जोखिममा छ, टेवा वालसमेत बगिसकेको छ, ठूला सवारी सञ्चालन गर्न सक्ने अवस्था छैन,' उनले भने ।

खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार खोलाको बहाव पिलरमै ठोक्किँदा संरचना थप कमजोर बनिरहेको छ। 'अहिले साना सवारी मात्र चल्न सक्ने अवस्था छ,' उनले भने । 

गत वर्षको असोजमा खुर्कोटको पुल बगाएपछि त्यस क्षेत्रमा बेलिब्रिज जडान गरिएको थियो। तर १५ टनभन्दा बढी तौलका मालवाहक सवारीसाधनले बेलिब्रिज प्रयोग गर्न नसक्ने भएकाले अहिले सबै भारवाहक गाडी यही भटौली खोलाको पुलबाट सञ्चालन हुँदै आएका छन् । 

खाँडादेवीका स्थायी बासिन्दा तथा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले पक्की पुलमा भएको क्षतिलाई गम्भीर रूपमा लिँदै तत्काल संरक्षण तथा मर्मतमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । आवागमन सहज र सुरक्षित बनाउन आवश्यक कदम चाल्न स्थानीय र प्राविधिक निकायलाई उनले आग्रह गरे ।

स्विस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रम (एलआरबीपी) अन्तर्गत स्वच्छन्द सिर्जना जेभीले २०७१/०७२ मा करिब ४ करोड रुपैयाँ लागतमा पुल निर्माण गरेको थियो । यो पक्की पुल रामेछापको वैकल्पिक यातायात सञ्जालमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। यो पुल रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक सडकमा पर्छ । पुल थप क्षतिग्रस्त भएमा काठमाडौंसहितको वैकल्पिक यातायात र आपूर्तिमा गम्भीर प्रभाव पर्ने स्थानीयको चिन्ता छ। 

गत वर्षको असोजमा आएको बाढीले खुर्कोटको पुल बगाउँदा रामेछाप र दोलखाबाट काठमाडौं आउजाउ गर्ने गाडीले यही बाटो प्रयोग गरेका थिए ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully